सिनेमा

हाय रे नेपाली सिनेमा….

November 26, 2011

अहिलेजसरी गंभीर रुपमा नेपाली सिनेमाको बारेमा बहस कहिल्यै भएको थिएन। भलै ती बहसहरुमा नेपाली सिनेमाहरुप्रति पोखिने तिक्तता बढी हुन्छ। जसरी हामी स्टोरबाट स्याम्पु, साबुन, चिनी या तेल किनेर ल्याउँछौ र बिज्ञापन गरे अनुसारको सामान रहेनछ भने गुनासो गर्छौँ, अर्कोपल्टबाट त्यो ब्राण्डको सामान किन्दैनौ, त्यस्तै सिनेमापनी एउटा उत्पादन हो। अवश्यपनी सिनेमाको प्रभाव बिशुद्द ब्यापारिक या सस्तो मनोरञ्जनमा मात्र सिमित छैन। सिनेमाले कथामार्फत तत्कालिन समाजको चित्रण गर्छ या गर्नुपर्ने हो। समस्या के हो भने, हाम्रा अधिकांश सिनेमाले हाम्रो समाजको कुनै तहको पनी प्रतिनिधित्व गर्दैनन। हाम्रा सिनेमामा हामी बाँचेको समाजको कथै छैन।

नेपाली सिनेमा नहेर्ने बर्गको गुनासो पनी यही हो- हाम्रा सिनेमाले हाम्रा कथा भन्दैनन। यी शब्दहरु दैनिक अखबारहरुमा लेखीने-पढिने कुराहरु हुन। निर्देशक मनोज पण्डितले मेरोसिनेमा डटकममा (www.merocinema.com) लेख्ने नेपाली सिनेमाहरुको समिक्षाको म नियमित पाठक हुँ। उनी ती समिक्षाहरुमा शब्दहरुमार्फत आक्रोश पोख्छन। नेपाली सिनेमाहरुप्रतिको असन्तुष्टी त्यहाँ छ। मनोजसँग भेट हुँदा हामी नेपाली सिनेमा र बिश्व सिनेमाका बारेमा कुरा गर्थ्यौँ। उनी फरक खालका नेपाली सिनेमा बनुन भन्ने चाहन्छन र आफैपनी फरक खालका सिनेमाहरु बनाइरहेका छन। पछिल्लोपल्ट भेटदा उनी आगामी सिनेमा ‘बधशाला’ को पटकथा र अनुसन्धानमा ब्यस्त थिए। उनको दोस्रो फिचर फिल्म ‘दासढुङगा’ ले ब्यापक चर्चा बटुल्यो। ब्यापारिक रुपमा निर्मातालाइ कत्तिको फाइदा पुरायो, मलाइ थाहा छैन तर अपवाद नै मान्नुपर्ला, मलाइ दासढुङगाले प्रभावित पारेन। सायद म सिनेमा हलमा प्रवेश गर्नुपुर्व मनोज पण्डितबाट बढी नै आशा राखेको हुँदो हुँ। सिनेमालाइ अनावश्यकरुपमा लम्बाइयो भन्ने दर्शकका रुपमा मेरो गुनासो हो। मैले उनको ‘ग्रेटर नेपाल’ हेरेको छु। यी सिनेमाहरु हेरेको आधारमा म के भन्न सक्छु भने, उनी घटनाको तहसम्म पुग्नसक्ने संवेदनशील निर्देशक हुन।

सिनेमा बनाउनु या सृजना गर्नु, कमेन्ट गर्नभन्दा गारो छ म मान्छु तर मैले सिनेमा बनाएँ भने, घरमा बसेर आफुले मात्र हेर्न त बनाउने हैन। दर्शकहरुका निम्ति बनाउने हो। जसरी एउटा लेखकका निम्ति उसको पुस्तक जति बढी पाठकबाट पढिन्छ त्यति गर्वको कुरा हो त्यसरी नै बढी दर्शकहरुसम्म पुग्न सक्नु सिनेमाको सफलता हो। मैले सिनेमा बनाएँ, अनी कुनै दर्शक १०० रुपैयाँ तिरेर टिकट काटी सिनेमा हेर्न गयो अनि हेरिसकेपछि उसले कमेन्ट गर्न पाउने की नपाउने ? घरिघरि मेरो प्रयाश के रहेको छ भने, नेपाली सिनेमाका बारेमा नकारात्मक कुरा गरेर या लेखेर मलाइ स्मार्ट हुन नपरोस। तर म बाध्य छु। दर्शकका रुपमा जब म हाम्रा सिनेमा हेर्छु, सिनेमा हलबाट बाहिरिँदा मेरो टाउको दुखिसकेको हुन्छ। केहीबेर भएपनी दैनिक जीवनका तनावहरु, सिनेमा हलको अँध्यारो पर्दा अनी त्यहाँ घटिरहेको कथा र त्यो कथालाइ घटाइरहेका पात्रहरुको जीवन्त अभिनयमा बिर्सन सकुँ भनेर म थियटरसम्म पुगेको हुन्छु, तर बदलामा मैले सजाय पाउँछु। लेख्न मन थिएन तर लेखिहालुँ- एउटा शुक्रबार सिनेमा हेर्नुपर्यो भनेर गोपीकृष्ण हल पुगेँ। प्राङगणमा छिर्दाबित्तिकै ‘KTV Award मा सर्वोत्कृष्ण कथाको एवार्ड जितेको भनेर पोष्टरमा लेखिएको सिनेमा ‘सन्देस’ देखेँ। पोष्टरमा बिराज भट्टले रगत चुहाएका थिए अनी देखा थापा, कालो चश्मा र चिल्ला ओंठमा थिइन। पोष्टर हेरेर त तुरुन्त फर्किहालुँजस्तो लागेको थ्यो तर सर्वोत्कृष्ट कथा भन्ने एवार्डले रोक्यो। टिकट काटेर भित्र पसेँ। हलमा निर्देशक रेशराज आचार्य भेटिए। उनले गोपीकृष्णकै निम्ति निर्देशन गरेको ‘प्रितिको फुल’ भन्ने सिनेमाले राम्रै ब्यापार गरेको थियो क्यारे सायद। उनीसँगै बसेर सिनेमा हेरेँ। सिनेमा ‘complete torture package’ थ्यो। ननिदाउने प्रयाश गर्दागर्दै तिनपल्ट निदाउने र जाग्ने काम भयो। देखा थापा सहिनसक्नु टर्चर थिइन सिनेमामा। सिनेमाले लास्टै रयाक गर्यो भनुँ भने ‘आफुले कस्तो नै सिनेमा बनाउने होला र हेर न यो पाजी स्मार्ट बनेको’ भन्ने कुरो आउलाजस्तो लागेर चुपचाप बाहिरियँ। भत्केपुलको बाटो हुँदै बालुवाटार फर्कँदा मेरो मनमा प्रश्न उठीरह्यो ‘सर्वोत्कृष्ट कथाको उपाधी जितेको यो सिनेमाको कथा आखिर के थ्यो ?’

फेसबुकहरुका बहस हेर्यो। अहिले थुप्रै नेपालीहरु नेपाल, भारत, अमेरिका र युरोपका देशहरुमा सिनेमा पढिरहेका छन। त्यसैले पनी होला, नेपाली सिनेमाका बारेमा चर्को बहस चल्न थालेको छ। एउटा बर्ग जसले अहिले नेपाली सिनेमा बनाइरहेको छ, जसमा मुर्गा बनेका या फसाइएका निर्माताहरु या जो सिनेमाको बृहतता नबुझेरै कुनै सानो स्वार्थ पुरा गर्न सिनेमा बनाइरहेका छन, ती बास्तवमै सिनेमा नै हैनन। मैले यो बर्ष हेरेका १५ वटा नेपाली सिनेमाका आधारमा भनेको हुँ। दार्जिलिङ या सिक्किमतिरका नेपालीमुलकाले प्रशान्त तामाङलाइ नायक लिएर बनाएको ‘अँगालो यो मायाको’ त सहिनसक्नु कै थ्यो। कुमारिमा हेर्दा अधिकांश दृश्य बुझिएनन। कथा र अभिनय लास्टै थ्यो। बरु देखा थापाको ‘कसले चोर्यो मेरो मन’ सहनेसक्नेखालको मानेँ मैले। ब्याच नंबर सिक्सटिन ठिकै थ्यो। ‘एकदिन एकरात’ मा पनी सबै ठिकै थ्यो कथाबाहेक। त्यहाँ कथा थिएन। शटहरु राम्ररी खिचिएका थिए। जिम्मिजिव प्रयोग गरी, क्यामेरा घुमाएर हाइ रिजोलुशनमा खिचेका सिनेमामा दृश्य त हेरिरहुँ लाग्दा थिए तर कथै नभएपछि त्यो कुनै Power Point Presentation भन्दा बढी लागेन। ‘बाटोमुनिको फुल’ राम्रो थ्यो। ‘कोही मेरो’ र ‘के यो माया हो’ सङख्या बढाउने भन्दा बढी थिएनन।

हरेक हप्ता सिनेमाहरु रिलिज भैरहेका छन। मलाइ अचम्म लागेको कुरा के पनी हो भने ‘हाम्रोमा प्रेमकथाबाहेक अरु केही हुँदै नभएका हुन की ?’ बिगत केही हप्तामा रिलिज भएका सिनेमाहरु हेर्नुस। ती सिनेमाको नाम हेर्नुस ‘मैले मन पराएँ’, ‘तिमीबिना बाँच्नै सक्दिन’, मनमनै मन परायँ’ ‘के यो माया हो’, मेरो लभस्टोरि, मेरो माया तिमीलाइ, मलाइ मन पर्यो, सम्झिदिए पुग्छ, किन मायामा, अँगालो यो मायाको, तिमी जहाँ भएपनी…….ओहो नसकिने ! हैन कति बनाउन सकेको हो माया माया माया ? यता पनी माया उता पनी माया, दर्शकले गर्ने हैनन पटक्कै माया।

हामी सबैले सुन्नेगरेको एउटा बाक्य के हो भने- नेपाली सिनेमाले आफ्नो स्वरुप बदल्नुपर्छ। यो ढर्रा छोडनुपर्छ। आदी। कुरा ठिकै हो। त्यसका लागी के गर्ने ? सिनेमाका नाममा बन्ने यी टर्चरहरुलाइ दर्शकले पुर्णत: बहिष्कार नगरेसम्म यस्ता सिनेमा बन्ने प्रबृत्ति रोकिन्न। यी सिनेमा पटक्कै चल्नुहुन्न। हुन त चलेकै कहाँ छन र ? केही सतही सोँच भएका सस्ता ब्यापारिहरुको सस्तो उत्पादन बनेको छ हाम्रो सिनेमा, जसले हाम्रा दर्शकहरु चिढाइरहेका छन। केहि बर्षमा हामीसँग सिनेमाको आधारभुत ज्ञान भएका सिनेमामेकरहरु त हुनेछन तर नेपाली सिनेमालाइ राम्रो फोटो निकाल्ने या झल्याक झुलुक इफेक्ट हालेर रङगिन बनाउन जानेको सिनेमामेकरभन्दा टेक्नोलोजीको ठिक प्रयोग गर्न जानेको सिनेम्याटिक कथाबाचक चाहिएको छ।

मलाइ थाहा छ, फेसबुकमा स्टाटस लेख्नुभन्दा राम्रो सिनेमा बनाउनु गारो काम हो। राम्रो सिनेमा के हो भन्ने प्रश्नको सरल उत्तर- सिनेमा जसले तपाँइको मन छुन्छ। केहीबेर भएपनी तपाँइका संवेदनाहरुमा उथलपुथल ल्याइदिन सक्छ भने, राम्रो सिनेमा त्यही हो।

यति पढिसकेपछि तपाँइको मनमा प्रश्न उठन सक्छ- नेपाली सिनेमाका बारेमा यति लेख्ने तिमीले चाँही कहिले सिनेमा बनाउने नी? प्रश्न जायज र स्वभाविक छ। अहिलेलाइ म यत्तिभन्न सक्छु- म सिनेमाकै काममा छु। जग खन्दै छु। माटो रुखो छ। परिश्रम सोँचेभन्दा बढी लागिरहेको छ। पुर्णकालीन रुपमा सिनेमामा लाग्नुपुर्व निभाउनुपर्ने केही जिम्मेवारिहरुले मलाइ चिहाइरहेका छन- निराश नपार्ने मेरो बानी छ:)

सबैको मंगल होस।

Image Source: Google

You Might Also Like

No Comments

Leave a Reply