सिनेमा

सिनेमा बनाउन दिने शर्तहरुका बारेमा –

July 17, 2015

अप्रिल 25 को भुकम्पछि थुप्रै क्षेत्रहरुजस्तै नेपालको सिनेमा क्षेत्रपनी प्रभावित भयो । केही नेपाली सिनेमा घरहरु चर्किए र दर्शकहरु सिनेमा घरसम्म जान डराउनुपर्ने अवश्था देखियो । भुकम्पको ३ महिनापछि जीवन सामान्य अवश्थामा फर्किएको छ र दर्शकहरु सिनेमा हेर्न हलसम्म जान थालेको देखिएको छ।

राजकुमार राइ चलचित्र बिकास बोर्डका नयाँ अध्यक्ष्य बनेका छन र बन्नुअघि सिनेमा क्षेत्रलाइ भरपर्दो बनाउन लागिपर्ने आश्वासन पनी जनाएका थिय । निर्माता संघसँगपनी आवद्द हुनाले उनले नेपालमा सिनेमा ब्यवसायलाइ पारदर्शि बनाउन ‘बक्स अफिस’ सिष्टम स्थापनाको कामलाइ प्राथमिकतामा राख्लान की भन्ने आशा मैले पनी गरेको थियँ । तपाँइले रगत, पसिना र पैसा खर्च गरेर एउटा सिनेमा निर्माण गर्नुहुन्छ । सिनेमा प्रदर्शनका निम्ति तयार हुन्छ र हलमा लाग्छ। ब्यवसायिक रुपमा तपाँइको सिनेमाले घाटा या नाफा जे खाएपनी, बास्तवमै सिनेमाले कति रुपैयाँको ब्यवसाय गर्यो भन्ने थाहा पाउन चाहनुहुन्छ तर सक्नुहुन्न । किनभने थाहा पाउनसकिने बैज्ञानिक उपाय नेपालमा छैन अहिलेसम्म ।

प्रदर्शकको भनाइमा बिश्वास गर्नुपर्ने अवश्था छ जसले गर्दा हल सञ्चालकहरु र सिनेमा निर्माताहरुबिच बिश्वासको बातावरण छैन। निर्माताहरु सधै आफ्नो सिनेमाले राम्रो ब्यापार गरेको मान्छन र हलवालाहरुले ब्यापार अनुसारको शेयर आफुलाइ नदिएको ठान्छन । आफ्नो सिनेमा हेर्न दर्शकको चाप हुँदाहुँदै आफ्नो सिनेमा हटाएर अर्को सिनेमा लगाउने गरेको ठान्छन तर सिनेमा

हलवालाहरुले आफ्नो सिनेमा नचलाइदिने हो भने अलिअली आउने पैसापनी नआउने डरले भित्रभित्रै पीडित बनेर बस्छन यता हलवालाहरुको भनाइ अर्को हुन्छ । हलवालाहरु निर्माताले बनाएको सिनेमालाइ कामको ठान्दैनन र सिनेमाले अपेक्षित ब्यापार नगरेको उनीहरुको भनाइ हुन्छ र उनीहरुको नचलिरहेको सिनेमा लगातार लगाइरहन ब्यवसायिक हिसाबले संभव नहुनाले अर्को सिनेमा चलायको उनीहरुको भनाइ रहन्छ ।

सर्सर्ति हेर्दा दुबै पक्षका तर्क उचित छन तर ब्यवसायमा जति बैज्ञानिक उपाय अपनायो त्यति सबै पक्षका लागी राम्रो हुन्छ । बक्स अफिस कम्प्युटराइज्ड सिस्टम हुनाले तपाँइको सिनेमाले गरेको ब्यापार, सरकारलाइ तिरिएको कर, निर्माता, बितरक र हल सञ्चालकको शेयर आदी बिषयहरु प्रष्टरुपमा यसले छुट्टाइदिन्छ र एक पक्षले अर्को पक्षलाइ आरोप लगाउनुपर्ने अवश्था आउँदैन । नेपाली सिनेमाको अहिलेको अावश्यकता यो हो तर राजकुमार राइ एउटा सानो समुहबाट निर्देशित भइ कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैँ कसले सिनेमा बनाउन पाउने, कसले निर्देशन गर्न पाउने, कसले नपाउने भन्ने अब्यवहारिक कानुन लगाउने काममा लागेका छन ।

कसैले कसैलाइ सिनेमा निर्माण-निर्देशन गर्न रोक्नसक्दैन न त त्यसका लागी कुनै पुर्व शर्त राख्न नै मिल्छ । त्यो ब्यक्ति सिनेमा निर्माण र निर्देशनका लागी योग्य छ छैन भन्ने निर्णय दर्शकहरुले उसको सिनेमालाइ सफल या असफल बनायर गर्छन । लगातार असफल सिनेमा बनाउने ब्यक्तिले सिनेमा निर्माणलाइ सधै निरन्तरता दिन सक्दैन । नाम नै लेख्नु उपर्युक्त हुँदैन तर नेपाली सिनेमा क्षेत्रमा यस्ता पर्याप्त नामहरु छन। मेरो कुनै सिनेमा एउटा समय कालखण्डमा चलेको थियो भनेर मेरा सिनेमा सधै चल्छन भन्ने ग्यारेण्टि हुँदैन ।

समयसँगै दर्शकको बदलिँदो स्वाद र बिश्व सिनेमामा चलिरहेको ट्रेण्ड नसमात्ने निर्माता-निर्देशकहरुलाइ समयले नै पाखा लगाइदिएको उदाहरण छ । अब ती पाखा लागेका निर्माता-निर्देशकहरुले टाढाबाट ‘ए नयाँहरु हो ! तिमीहरुले गर्दा हाम्रा सिनेमा चलेनन…तिमीहरुले अब फलानो फलानो कारणले सिनेमा बनाउन पाउँदैनौ ‘ तिमीहरुले हाम्रो सहायक नबनी सिनेमा बनाउन पाउँदैनौ, तिमीहरुले निर्माणमा हामीसँग सहकार्य नगरि सिनेमा बनाउन पाउँदैनौ । तिमीहरुले सिनेमा बनाउनु अघि यतिवटा सिनेमामा काम गरेको हुनुपर्छ….यो त्यो भनेर अब्यवहारिक नियम लागु गर्न खोज्नु ठिक कुरा होइन ।

सिनेमा ब्यवसायमा टिकिरहने एउटै उपाय हो दर्शकले मन पराउने सिनेमा बनाउन सक्नु । रेखा थापाका सिनेमा मन पराउनेहरुको पनी संख्या हुनाले उनी र उनका सिनेमाहरु बजारमा टिकिरहेका छन । निश्चल बस्नेतका सिनेमाहरु मन पराउनेहरु हुनाले उनका सिनेमा बजारमा बिकिरहेका छन । तुलसी घिमिरेको दर्पणछायाँ मलाइ पनी असाध्यै मनपरेको सिनेमा हो तर उनको पछिल्लो मृगतृष्णा मन परेन । तुलसी घिमिरेले आउँदा दिनमा मनोरञ्जन दिनसक्ने सिनेमा बनाए भने उनका सिनेमा पनी बजारमा बिक्नेछन तर अहिले मृगतृष्णा या कुनै अमुक सिनेमा नचल्नुलाइ दर्शक अथवा नयाँ फिल्ममेकरहरुलाइ दोष दिनु अब्यवसायिक प्रबृत्तिमात्र हो । नयाँ फिल्ममेकरहरुलाइ रोक्ने कामको छविराज ओझाहरुले स्वागत गरिरहेका छन, यसमा अचम्म मान्नुपर्ने कारण छैन तर उनलेपनी के बुझ्नु जरुरि भइसक्यो भने, उनका पछिल्ला सिनेमाहरु नचल्नुमा नयाँ केटाहरुको दोष भन्दा पनी 1980-1990 को दसकका भारतिय कथापद्दतिमा बनेका उनका सिनेमाहरुको दोष छ । भ्रष्ट प्रहरि, बलाकात्कर गर्नैपर्ने खलनायक र बत्तिस गुणले युक्त नायक अनी नाँच्न-गाउन जानेकी नायिकामात्र हुने कथाबस्तु दर्शकले पचाउन छोडे भन्नेकुरो उनले जतिछिटो बुज्छन, उनलाइ नै फाइदा हुन्छ।

दशौ बर्षदेखी नेपाली सिनेमा बनाइरहेका पुराना नेपाली निर्माता-निर्देशकमा देखिएको अर्को एउटा डर के भने, नयाँ फिल्ममेकरहरु प्रबिधी र सोसियल मिडियामा अगाडी हुनाले उनीहरुका सिनेमा चलेका हुन भन्ने। यो सत्य होइन । नयाँ पुस्ताका सिनेमामेकरहरु स्मार्ट फोन बोक्छन, अंग्रेजीमा दक्ष छन अनी दस्तोस्की, गोडार्ड र पासोलिनीका सिनेमा हेर्छन र बिश्व सिनेमाका बारेमा फेसबुकमा स्टेटस हाल्छन भन्दैमा पुराना सिनेमामेकरहरुले अन्यथा सोँच्नु बेकार छ किनभने बारम्बार प्रमाणित भैसकेको तथ्य के पनी हो भने, फेसबुक, टुइटर जस्ता सोसियल साइटहरुमा सिनेमाका बारेमा लेखिने कुराहरु बिज्ञापनको अहिलेको शैलीमात्र हो । निश्चय पनी सिनेमाका बारेमा जति धेरैले सुन्छन, पढछन या ट्रेलर, टिजर हेर्छन त्यति राम्रो हो सिनेमामेकरका लागी किनभने उसले आफ्नो सिनेमाका बारेमा धेरैमान्छेहरुसम्म पुग्ने प्लेटफर्म फेसबुक र टुइटर पायो तर त्यहाँ क्रियट गरेको हाइपले त्यतिबेलामात्र फिल्ममेकरलाइ सहयोग गरेको छ जतिबेला सिनेमा आफैमा राम्रो पनी छ। राम्रो सिनेमालाइ थप दर्शकहरुसम्म पुराउन सोसियल साइटले सहयोग गर्छ तर सिनेमा नराम्रो छ तर हाइप निकै क्रियट गरिएको छ भने त्यसले ब्याकफायर गर्छ किनभने बिज्ञापनका शसक्त माध्यम word of mouth र Review हुन । ओभरहाइपले ब्याकफायर गरेका उदाहरणहरु नेपाली सिनेमामा प्रसस्त छन । अंग्रेजी बोल्नु, लेख्नु अनी वर्ल्ड सिनेमाको बारेमा जानकारि राख्नु र भिजुअल्ली शसक्त रुपमा कथा भन्न सक्नु फरक कुरा हुन ।

के सिनेमा बिशुद्द Visual Storytelling होइन र ? अंग्रेजी बोल्न-लेख्न सक्नु र सोसियल साइटमा पोष्ट गरिने स्टेटसहरुको यससँग कुनै सम्बन्ध छैन ।

त्यसैले राजकुमार राइको अहिलेको प्राथमिकता सिनेमा निर्देशन या निर्माण गर्नुअघि पालना गर्नुपर्ने नयाँ नियमहरु बनाउनुभन्दा बक्स अफिसको स्थापना गरेर सिनेमा ब्यवसायको आर्थिक पाटो पारदर्शि बनाउने, सिनेमा हलहरुको संख्या बढाउन पहल गर्ने र मुख्यत: नेपालीहरुमा सिनेमा हेर्ने बानीको बिकास सिनेमा-साक्षरता बढाउन के गर्न सकिन्छ, त्यसका बारेमा सोँच्ने हो । ३ करोड नेपालीमध्ये 1 लाख दर्शकले पनी नेपाली हेरिदिँदैनन, हाम्रा सिनेमा नहेर्ने ती दर्शकहरुलाइ हेर्ने बनाउने एउटै उपाय राम्रा सिनेमाहरु बनाउनु हो । चलचित्र बिकास बोर्डको अध्यक्षका रुपमा राजकुमारसँग राज्यको उपल्लो तहसम्म पहुँच छ, त्यसलाइ प्रयोग गरेर सकारात्मक पहल गर्न सक्थे जस्तो मल्टिप्लेक्स हलहरुले कम्तिमा निश्चित संख्यामा नेपाली सिनेमाहरु प्रदर्शन गर्नैपर्ने । नेपाली सिनेमा प्रदर्शन गर्ने हलहरुलाइ प्रबिधि सुधारका निम्ति सहयोग गर्ने आदी तर उनी आफुले गर्नुपर्ने र गर्नसक्ने कामभन्दा नयाँहरुलाइ रोक्ने काममा लागेका छन ।

यो दुर्भाग्य हो ।

Image Source: Google

You Might Also Like

No Comments

Leave a Reply