साहित्य

प्रायोजित…टिप्पणीहरु

March 27, 2015

बिहान डक्टर अरुणकुमार गुप्तासँग एप्वाइनमेन्ट लियको थियँ। समयमै नर्भिक पुगेँ । केहिबेरको पर्खाइपछि पालो आयो, डक्टरले छामछुम गरे, केही प्रश्नहरु… अनि १ महिनाको लागी औषधी लेखे। केही ल्याब टेष्टहरु गर्नुपर्ने रहेछ ।

बिरामी पुस्तिकामा लेख्दिँदै भनेँ – ‘नक्साल भाटभटेनीको पारिपट्टि के ल्याब (K Lab) छ त्यहाँ गराउनुहोला यी टेष्टहरु ‘

मैले अलमल परेर उनका मुखमा हेरेको देखेर होला उनी आफै बोले ‘त्यहाँ टेष्ट गराउनु भयो भने उनीहरुले मलाइ रिपोर्ट इमेल गर्दिन्छन, औषधी केही बदल्नुपर्यो भने सजिलो हुन्छ ‘

‘के ल्याब’ ! ए ।

डक्टर कक्षबाट बाहिरियँ । गुगलमा हेरेँ के ल्याब भनेको – Krown Laboratory & Referral Center रहेछ ।

प्राङगणको फार्मेसीमा औषधी किनेँ र आकासतिर हेरेँ । बादल बिस्तारै कालो हुने क्रममा थियो । मौसमको भर नलागेर सानो लेडिज छाता बोकेको थियँ घरबाट हिँडदा । थापाथली चोकमा निस्कियँ र पैदलै माइतीघर मण्डला, भद्रकाली, शहिदगेट हुँदै जमल आइपुगेँ । रानीपोखरि आइपुग्दा पानी पर्न शुरु भैसकेको थियो, छाता खोल्ने कष्ट गरिन, अलिअली रुझियछ ।

कान्तिपथको पुस्तक पसलमा छिरेँ। नारायण ढकालको नयाँ किताब ‘बृषभ बध’ आइसक्यो की भन्ने आशले पसेको थियँ, आइपुगेको रहेनछ । बाहिर झमझम परेको अचानकको पानीमा असिना मिसिन शुरु भैसकेका थियो । माइक्रो पर्खेर उभिएका महिला अनी बिध्यार्थिहरु, ढोका बाहिर मुन्टो निकालेर ‘गोङगबु…गोङगबु…सामाखुसि…टोखा’ भनेर चिच्याइरहेका खलाँसीहरु अनी पाइलो राख्न ठाउँ बाँकी नरहेका माइक्रो डब्बाहरुलाइ एजुकेशनल बुक हाउसको सिसाबाटै देखेँ । पानी परिरहेको थियो ।

बजारमा नयाँ पुस्तकहरु आएका रहेछन् । लहरै मिलायर राखिएका आकर्षक कभरसहितका ती पुस्तकहरु हेरिरहेँ…. किनिहाल्ने आँट आएन । ‘रबिन्द्र मिश्रका कविता’ शिर्षकको कविता संग्रह देखियो । टिपेँ र टुइटा कविता पढेँ ।

कविताको राम्रो पाठक म हैन । मलाइ ती जटिल लाग्छन र बुझ्दिन । पछिल्लो गातामा बुद्दिसागर लगायतका लेखकहरुले मिश्रका कविताहरुको महत्वमाथि प्रकाश पार्दै लेखेका छोटा टिप्पणी पढेँ । कविता राम्रै हुनाले लेखे होलान । एक दुइपल्ट यस्तै टिप्पणीको भरमा पुस्तकहरु किन्दा म चुकेको छु त्यसैले अचेल आँट आउँदैन । नयनराज पाण्डेको ‘घामकिरि’ किन्दा त्यस्तै भयो । उलारजस्तो राम्रो कृति लेखेका उनको किताब किन्न हिच्किचाउन पर्ने त थियन र किनेँ तर पुस्तक पुरा पढन सकिन ।

डक्टर गुप्ताले राम्रै उद्देश्यले मलाइ K Lab जान भनेका होलान टेष्टहरु गर्न तर पुस्तक बिकाउन लेखिने टिप्पणीहरुजस्तै उनको सल्लाहमा पनी ढुक्क हुन सकिन । पुस्तक पछाडि लेखिने टिप्पणीहरु अचेल प्रायोजित लाग्छन, मेरो भ्रम हुनसक्छ तर भ्रमै सही ।

सिनेमा र साहित्यमा सतहमा नदेखिने समुहहरु छन् । गुट भन्दा बाहिरकोले लेखेको पुस्तकलाइ राम्रो मान्नेहरु कम देखिन्छन । अखबारहरुमा आउने सिनेमाका समिक्षाहरुमा त्यस्तै महशुस गर्छु । दर्शकबाट अस्विकृत भएका तर आफ्नो सानो सर्कलभित्र परेका मान्छेहरुले निर्माण / निर्देशन गरेका सिनेमाहरुका बारेमा कलात्मक समिक्षा लेखिन्छन अनी काठमाडौको पारिलो घाममा बसेर ती समिक्षा पढन आनन्द लाग्छ ।

एकपल्ट एकजना नाम चलेका निर्देशकसँग बुद्दनगरको उनको अफिसमा बसेर उनले निर्देशन गर्न थालेको सिनेमाको स्क्रिप्टमा काम गर्दै थियौँ हामी । शहरको नाम चलेको राष्ट्रिय दैनिकमा निकै राम्रा समिक्षा लेख्ने समिक्षक आए र भलाकुसारि गरे । चिया मगाउने कार्य गरियो र प्लाष्टिकका रुञ्चे कपमा पिइयो। जाँदाजाँदै समिक्षकले निर्देशकलाइ सोधे – दाइ केही छाप्नुपर्ने छ की ?

शालीन निर्देशकले जवाफ दिए – पख केही दिन । टाइटल फाइनल होस अनि हल्ला शुरु गरौँला ।

ती समिक्षक र मेरा केही म्युचुअल मित्रहरु थिय । उनलाइ म चिन्थेँ उनले मलाइ चिन्दैनथे । उनले लेख्ने समिक्षा पढने हुनाले म उनलाइ चिन्थेँ, ब्यक्तिगत परिचय हैन। केहि हप्तापछि उनले आफ्नो पृष्ठमा निर्देशकको प्रोजेक्टका बारेमा सानोतिनो समाचार लेख्न शुरु गरे । शुटिङ शुरु हुनु अघि मैले प्रोजेक्ट छोडेँ । आर्थिक लाभको लागि मैले त्यो सिनेमा गरिरहेको थिइन, अनुभव लिनु कारण थियो । निर्देशक ठिकै थिय तर निर्माताको झुरपटास ब्यवहारले ‘चाहिएन तिम्रो सिनेमा…’ भन्ने सोँचमा पुराए अनी एकदिन बिहानको मिटिङमा निर्देशकलाइ ‘माफ गर्नुहोला…मेरो मनले अब यो सिनेमामा काम गर्न मानेन’ भनेर प्रि-प्रोडक्सन र स्क्रिप्टिङमा काम गरेको २ महिनाको पैसा नमागी हिँडेको थियँ । मागेको भएपनी ती झुरपटासहरुले दिँदैनथे ।

बानेश्वर चोकमा नेपाल यातायातको खलाँसि चिच्याइरहेको थियो ‘….नक्साल…भाटभटेनी..बालुवाटार’ – बसभित्रको भीडमा पसेँ र फर्किन त्यो अफिसमा । त्यसपछिका महिनाहरु त्यसअघिका जस्तै बेरोजगारिमा बिते ।

कामको आधारमा भन्दापनी ब्यक्तिको सामाजिक प्रतिष्ठा, पहुँच र शक्तिका आधारमा हुने प्रसंशा, आलोचना, समालोचना अनी प्रायोजित टिप्पणीहरुले सबैभन्दा देखिने घाटा बस्तु / सेवा / सृजना किन्ने उपभोक्तालाइ हुँदो रहेछ ।

पुस्तकहरुको हकमा पाठकलाइ, डक्टरकोमा जाँदा बिरामीलाइ, सिनेमा हेर्दा दर्शकलाइ तर समयक्रममा त्यसको चर्को घाटा सर्जकलाइ पनी हुन्छ किनभने सानो सर्कलले सृजना गरेको हल्लाले बातावरणमा केहिबेर तरङग त ल्याउला तर त्यो क्षणिक हुन्छ । झुटो समिक्षा र प्रसंसाले थप केही दर्शकहरुलाइ सिनेमा हलसम्म पुराउला तर सिनेमा हेरिसकेपछि ती दर्शकहरु भविष्यमा फेरि अर्को सिनेमा हेर्न आउने संभावना न्युन हुन्छ । धेरै केसहरुमा यस्तो भएको देखिएको छ ।

बाहिर पानी पुरै नरोकिएको भएपनी पानीको गति कम भैसकेको थियो । पानीबाट जोगिन पुस्तक पसलको ढोकामा एक हुल बिध्यार्थिहरुले जाम पारेका रहेछन । उनीहरुको बिचबाट निस्केँ । कान्तिपथका ढल फुटेछन । केही पर्यटकहरु नाक थुन्दै ढलको फोहोर पानीबाट जोगिँदै हिँडेका देखिए । एउटा अधबैशे मान्छे नाचघरको भित्ताको आड लागेर नाक कोटयाउँदै सोँचमग्न देखिए । जमलको आकासे पुल चढनै लाग्दा कतैबाट हुत्तियर आएको लुते कुकुर ठोक्कियो । त्यो भिजेको खैरो लुते कुकुरले त्रसित मुद्रामा मलाइ हेर्यो । नजिकैको मम पसले साहुले इट्टाले हानेको रहेछ । इट्टा छलेर आउँदा म सित ठोक्कियो । सिँढि उक्लियँ । पछि फर्केर हेरेको कुकर मान्छेहरुको भीडमा निरिह हिँडाइ हिँडिरहेको थियो हरेक अनुहारतिर त्रसित हेराइ फाल्दै….कसले बुटले ढाडमा बज्याउने हो अनुमान गर्दैहोला सायद उ ।

पानी परेपछिको काठमाडौलाइ मैले आकासे पुलमाथि उभियर हेरेँ । पुर्व-दक्षिणतिर देखिएको घण्टाघर र रानीपोखरि सधैँझैँ शान्त थिए । बिश्वज्योति हलअगाडी माइक्रो डब्बाका खलाँसी भाइहरु चिच्याउन थालिसकेका थिय ।

‘दाजु कहाँसम्म जाने ?’ आवाजले झस्केँ र श्रोततिर फर्केँ । एउटा माइक्रो डब्बाको खलाँसी भाइ मुस्कानसहित उभिएको थियो । माइक्रोका ड्राइवर र खलाँसीहरु राम्रो भाषामा बोलेमा अचम्म मान्नुपर्ने ठाउँको प्राणी म, यो भाइको अनुहारमा देखिएको मुस्कानप्रति सशंकित भैरहेको थियँ ।

‘धुम्बाराही जाने हो यो ?’ यातनाबक्स लाइ देखाउँदै भने ।
‘जान्छ…जान्छ… दाजु बसिहालौँ है…अर्को आउने बेला भैसक्यो’ सहचालकले भन्यो ।

सायद म पैदलै जान्थेँ होला जयनेपाल हल हुँदै तर यो भाइको मुस्कान र मिठो बोलीले मलाइ माइक्रोमा बस्न प्रेरित गर्यो र मेरा पाइला यातनाबक्सतर्फ मोडिय। सीट थियन, आधा जीउ झुकायर उभिने काम भयो ।

बाटोमा यात्रुहरु थपिँदै गए र अब उभिन पनी नमिल्ने अवश्था आयो नागपोखरि पुग्दासम्ममा ।

‘ओइ दाइ…बाटो ब्लक नगर्नुस त ..पछाडी सर्नु..पछाडी सर्नु । ओइ अण्टि पछाडि सर्नु पछाडी’ अगिको मृदु-मुस्कान सहितको खँलासी भाइ अहिले कर्कश आवाजमा आदेश दिइरहेको थियो ।

‘पछाडी जान त ठाउँ पनी हुनुपर्ला नी भाइ…तिमीमाथि चढने हो र ?’ मैले भनेँ ।
‘धेरै ठाउँ चाहिने भए..टयाक्सी चढनुपर्छ टयाक्सी…खुरुक्क पछाडी जानुस..याँ अरु मान्छे हाल्नुपर्छ ‘ खलाँसिले बार्ता टुङग्यायो ।

यो सालेले जमलमा देखाएको मुस्कान, किताब पछाडी लेखिने टिप्पणीहरुजस्तै प्रायोजित रहेछ । रिस उठिरहेको थियो तर मेरो अवश्था निचोरिएको कागतिजस्तो निरिह थियो । पुस्तक किनिसकेको पाठकको जस्तो थियो । टिकट किनेर हलभित्र पसिसकेको दर्शकको जस्तो थियो अनी डक्टरसँग एप्वाइनमेन्ट लिइसकेको बिरामीको जस्तो थियो ।

चुपचाप भाडा तिरेर गन्तब्यभन्दा पहिलै झरेँ र अगिल्लो मोडबाट देखिन छाडुञ्जेल गुडिरहेको त्यही माइक्रोलाइ हेरिरहेँ ।

तस्विर श्रोत: गुगल

You Might Also Like

2 Comments

  • Reply jhyaap May 25, 2015 at 1:24 pm

    r u ok ?

    • Reply Satelite June 30, 2015 at 6:54 am

      Hello Jhyaap brother, I am completely fine. Thanks for visiting and for your concern. Appreciated.

    Leave a Reply