सिनेमा

माला

March 25, 2015

सुदिप भुपाल सिँह निर्देशित नेपाली सिनेमा ‘माला’ हेरेँ। निकै राम्रो लाग्यो सिनेमा । हेरुञ्जेल सीटमा बाँधेर राख्यो ।

थ्रिलर / हरर जनराको नेपाली सिनेमामा ‘माला’ एउटा स्तरिय सिनेमाको रुपमा पछिसम्म संझिइनेछ भन्ने कुरामा मलाइ शंका छैन।

आर्यन सिग्देल र प्रियंका कार्की कहिल्यै मलाइ कलाकारजस्ता लाग्दैनथे तर ‘माला’ हेरेपछि के लाग्यो भने उनीहरु सधै राम्रा कलाकार त थिय तर त्यो कलालाइ अभिब्यक्त गर्ने सही ठाउँ सायद पाएका थिएनन । निर्देशक सिँहले उनीहरुको कलाकारिता निकालेका छन।

सिनेमाको शुरुवात मालाको आत्महत्याबाट हुन्छ र उनको आत्माले पछ्याउने दुइ चरित्र प्रज्वल गिरि र आर्यन सिग्देलमाथि घटने घटनाक्रमहरुसँगै सिनेमाको कथा अगाडी बढछ। प्रज्वलकी श्रीमतिको रुपमा सुमिना घिमिरेले गरेको अभिनय तारिफयोग्य छ।

मैले सिनेमाको कथाका बारेमा

लेख्ने कष्ट गर्दिन किनभने सिनेमा हेर्नयोग्य छ र हेर्नयोग्य सिनेमाको कथाका बारेमा धेरै लेख्नु ठिक हुँदैन।

‘माला’ सुदिप सिँहको पहिलो निर्देशकिय सिनेमा भनेर कुनै कोणबाट बिश्वास लाग्दैन। यस्तो लाग्छ उनी खारिएका निर्देशक हुन जो सटिक रुपमा, पात्रहरुको मौनताबाटै कथा बगाउन सक्छ। जसलाइ कथा अगाडी बढाउन गीत र फाइट चाँहिदैन र जो मौलिकताको नाममा अकारण पञ्चेबाजा बजाउँदैन । जो समाजमा रहेका इस्यु उठाउने नाममा दर्शकलाइ सिनेम्याटिक यातना दिँदैन हेरुञ्जेल।

निर्देशकले दर्शकलाइ जे दिन चाहेका हुन, त्यसमा उनी सफल भएका छन। दर्शकमा जुन खालको थ्रिलको उनले अपेक्षा गरेका थिए, त्यो क्रियट गर्न उनी सफल भएका छन।

नेपाली सिनेमामा अहिले देखिइरहेका दुइ पक्ष, एउटा परम्परागत धार र अर्को प्रयोगका नाममा भैरहेका ‘इस्केप’ जस्ता सिनेमाहरुको बाढी जुन दर्शकहरुका लागी यातना बनिरहेका छन, यो भीडमा सुदिप भुपाल सिँहको सिनेमा ‘माला’ दर्शकका निम्ति पुर्ण मनोरञ्जन बनेर आएको छ। सिनेमाले म्यासेज दिनु या समाज-सुधार गर्नु, माया-प्रेम गर्न सिकाउनु भन्दा अगाडी सिनेमाले दर्शकले हेरुञ्जेल बोर नहुने गरि मनोरञ्जन दिनसक्नुपर्छ। कम्तिमा हेरुञ्जेल दिक्क नलाग्ने त हुनुपर्यो । मालाले मानव तस्करि र मानव अङग प्रत्यारोपण, मगौला बेचबिखनको इस्यु उठाएको छ तर यी इस्युहरु मदनकृष्ण श्रेष्ठले न्यारेसनमा भनेर बुझाउनुपर्ने भन्दापनी कथाकै भागमा रुपमा आएका छन् जसले कथालाइ ढिसुमढिसुम धारको नेपाली सिनेमाभन्दा माथि बिचारप्रधान सिनेमा बन्न सघाएका छन।

माला समग्रमा राम्रो सिनेमा भएपनी कमजोरि नै नभएको या हाम्रो उत्कृष्ट उत्पादन भने होइन । थ्रिलर कथामा हुनुपर्ने Pace सिनेमामा छैन । धेरै ठाउँमा सिनेमा सुस्त लाग्छ । निर्देशकले जसरि आर्यन सिग्देल र प्रियङका कार्किबाट राम्रो अभिनय लिन सकेका छन, त्यो सिनेमामा Humour का निम्ति राखिएका ‘मामा’ पात्रले ठाउँ ठाउँमा इरिटेट बनाउँछन । मामाको लाउड चरित्रले बिशेष गरेर उनले अंग्रेजी बोल्दा हँसाउन त हँसाउँछ तर बेलाबखत दिक्क पनी बनाउँछ।

मालाको सबैभन्दा शसक्त पक्ष यसको ब्याकग्राउण्ड स्कोर हो । कथा र पात्रको मनोभाव अनुसारको स्कोरले संवादको अनुपस्थितिमा कथालाइ अगाडी बढाउन महत्वपुर्ण भुमिका खेलेको छ । छायाङकन पनी राम्रो छ ।

अन्त्यमा के भन्न सकिन्छ भने माला हेर्न लायक नेपाली सिनेमा हो । हलमा चलिरहेको छ, ढुक्क भएर हेर्दा हुन्छ ।

माथिको लेख सिनेमाको समिक्षा नभएर सिनेमा हेरिसकेपछिको मेरो दर्शकिय धारणा मात्र हो जसमा सबै सहमत हुनुपर्छ भन्ने पटक्कै छैन, जसरि हामी फरक हुनाले सुन्दर छौँ त्यसरि नै हाम्रा बिचार /धारणाहरु फरक हुन्छन ।

You Might Also Like

No Comments

Leave a Reply