Adventure

2014

January 1, 2015

अर्को एउटा बर्ष पनी सकियो। पुरै ३६५ दिनहरु।

आज अर्को बर्षको जनवरि १ । नयाँ पुस्तकको पहिलो पेज। कुमार नगरकोटीको नयाँ किताब ‘अक्षरगञ्ज’ बाट शुरु गरेँ। अरु बर्षहरुजस्तो न्यु इयर इभ मनाउन कतै गइन हिँजोराति। घरमै बसेँ, राती १ बजेसम्म २ वटा सिनेमाहरु हेरेँ The Drop र The Rainmaker. दुइ बजे रातीबाट आमालाइ गारो बनायो स्वास्थ्यले अनी बाँकी रात हेरचाहमा बित्यो। बिहान एकछिन सुतेँ।
२०१४ मेरा निम्ति राम्रै रहयो। राम्रोको परिभाषा मान्छेअनुसार फरक हुन्छ, मेरानिम्ति सामान्य हुनु या असामान्य नहुनु नै राम्रो हो। 2014 मा मुख्यत: मैले बाबा-आमासँग समय बिताउन पायँ। धेरैजसो महिनाहरु आमालाइ अस्पताल लैजाने-ल्याउनेमा बित्यो। बर्षको बिचतिर केही समय नर्भिक र पाटनमा भर्ना हुनुभयो, बाँकी समय घरमै औषधीआराम। घरमा ब्यस्त हुनपरेकोले होला सोँचेजति ब्यवसायिक कामहरु गर्न सकिन। धेरै बर्षसम्म मैले यति लामो समय बाबा-आमासँग बिताउन पाएको थिइन। भन्छन, हरेक अप्ठयारोले मान्छेलाइ अझबढी Humble बनाउँछ र जीवनप्रति हेर्ने दृष्टिकोणमा परिपक्वता ल्याउँछ। हो जस्तो लाग्छ यसो फर्केर हेर्दा।

केही म्युजिक भिडियो र छोटा फिल्महरु खिचेँ अनी एउटा छोटोँ फिल्म ‘राजमार्ग’निर्देशन गरेँ गएको बर्ष। राजमार्गका केही कामहरु बाँकी नै छन।
बितेको बर्ष प्याराग्लाइडिङमा केही फ्लाइट उडेर Airtime चाँही जोडेँ लगबुकमा। उडदाउडदै बिजुलीको पोलमा पनी खसेँ पोखरामा तर लोडसेडिङको समय हुनाले मरिएन। यो बर्षको लागी क्रशकन्ट्रि पाइलट बन्ने लक्ष्य राखेको छु, त्यसको लागी थुप्रै उडनुपर्ने हुन्छ। हेरौँ कत्तिको सकिन्छ। समयक्रममा पुरा हुँदै जालान।

गएको बर्ष एउटा 10 दिने र एउटा 3 दिने बिपश्यना शिविरमा भाग लियँ। ती शिविरहरुले जीवनमा सकारात्मक उर्जा थपे।
गएको बर्ष पुस्तकहरु पढने र सिनेमाहरु हेर्ने काममा निकै प्रगति भयो तर त्यसअनुसार यो ब्लगमा लेख्न सकिन। अस्पताल र घरमा बस्दा सिनेमा र पुस्तकहरु अभिन्न साथीका रुपमा रहे। किनकिन गएको बर्ष लेख्न झ्याउ लागेर आयो। लेखिन।

बर्ष 2015 का निम्ति बिशेष योजना केही छैन। अली बढी प्रोडक्टिभ हुने हो । समय मिलायर एउटा बिपश्यना शिविरमा सेवा गर्नजाने मन छ। अरुको सेवाको लाभ धेरै लिइयो, एकपल्ट अरुलाइ सेवा गर्नुपर्यो भन्ने सोँच छ।

त्यसबाहेक म खासै योजना बनायर चल्दिन। केही निश्चित खाकाहरु छन, त्यसैअनुसार समयले जता लैजाला, जाउँला।

बर्ष 2014 मा म बाँचे 2014 कै लागी। कहिँ पुग्नु थियन त्यसैले दौडनपनी चाहिन। कहिलेकाँही टक्क अडियर अगाडी देखिएका बस्तु-मान्छेहरुलाइ हेर्नुपर्दोरहेछ, दौँडँदा-दौडँदै ती सामान्य खुसीहरुलाइ आत्मसात गर्न नसकिएको अवश्था हुँदोरहेछ। अडिनु, अगाडी-पछाडी हेर्नु र सुगन्ध लिनुपनी बँचाइ नै रहेछ। गएको बर्ष त्यो स्थिर जीवन बाँचियो।

बाँकी समयसँगै –

तस्विर श्रोत: Google

You Might Also Like

No Comments

Leave a Reply