सिनेमा

धुम-3, शहर अनी चियागफहरु

December 28, 2013

काठमाडौ अहिले अामिर खान अभिनित धुम-3 मय बनेको छ । हलहरुका बुकिङ साइटमा धुमका बुकिङ प्राय फुल छन। म दिनहुँ दरबारमार्गतिर जाँदा बाटोमा पर्ने जयनेपाल हलको प्राङगणमा देख्छु, मोटरसाइकल र कारहरु पार्किङ लटमा अचेटमचेट गर्दै राखिएका छन अनि हलको गेटमा हरियो बोर्डमा लेखिएको छ ‘हाउसफुल’ । त्रिपुरेश्वरबाट फर्कँदा केहिबेर जाममा परेँ, सिभिल मलमा धुमको शो सकिएर बाटोमा भीड भएको रहेछ अनि माथि टेकुसम्म ट्राफिक जाम। धुम मैले हेरेको छैन त्यसैले सिनेमाको बारेमा कमेन्ट गर्न मिल्दैन तर मैले यहाँ लेख्न खोजेको बिषय सिनेमाको लोकप्रियताको बारेमा हो ।

कुनै पनी फिल्ममेकरको चाहना हुन्छ, उसले बनाएको सिनेमा बढीभन्दाबढी माससम्म पुगोस। धेरैभन्दा धेरैले हेरुन र सकारात्मक या नकारात्मक प्रतिक्रिया दिउन। धुमजस्ता सिनेमाहरु किन चल्छन अनी हाम्रा सिनेमाहरु मासबाट किन तिरस्कृत हुन्छन भन्ने बिषयमा हरेकका आफ्ना धारणाहरु हुन्छन र ठयाक्कै एउटा सही कारण नपाइन सक्छ तर सबैले बुझेको तथ्य के हो भने हाम्रा सिनेमाहरु दर्शकलाइ मनोरञ्जन दिन असफल भएका छन। २ घण्टा सीटमा बाँधेर राख्न सकेका छैनन। यो ध्रुवसत्य हो। मैले बनाएको सिनेमा मलाइ राम्रो लाग्छ, मेरो परिवार र मेरो निकटकाहरुलाइ राम्रो लाग्छ तर बास्तविक दर्शक ती होइनन। सिभिल मल, जयनेपाल या उपत्यका बाहिरका सिङगल स्क्रिन हलहरुमा पैसा तिरेर टिकट काटनेहरु बास्तविक दर्शक हुन तिनले म ब्यक्तिबिशेषले बनाएको भनेर सिनेमालाइ राम्रो भन्दिन्नन र म प्रतिको कुनै पुर्वाग्रहका कारणले सिनेमालाइ नराम्रोको टयागपनी लगाइदिन्नन। सिनेमाले उनीहरुलाइ मनोरञ्जन दिनसक्यो, २ घण्टा बोर गरेन भने तिनका मुखबाट ‘फिलिम राम्रो रहेछ है’ भन्ने सुन्न उनीहरुलाइ कुनै लालमोहन ख्वाइरहनुपर्दैन।

केहि दिन अगाडी मैले आदर गर्ने निर्देशक साथिलाइ भेटेको थियँ चिया-चुरोट गफमा। हाम्रो सिनेमाहरुले ब्यापार गरेनन भन्ने बिषयमा केहीबेर चियागफ गरियो। म आफुले सिनेमा बनाएको छैन त्यसैले पनी ती बहसहरुमा मेरो भुमिका श्रोताको भन्दा बढी हुँदैन बिचबिचमा चित्त नबुझेका कुरामा कमेन्ट गर्ने बाहेक।

हाम्रा सिनेमाहरुमा दर्शकहरुले खोजेको मनोरञ्जन पाएनन भन्ने बिषयमा बहस गर्दा के तर्क निस्कियो भने’ मलाइ मनोरञ्जन दिने कुराले तपाँइलाइ मनोरञ्जन नदेला या मलाइ गजब लागेको कुराले तपाँइलाइ बोर गर्नपनी त सक्छ भनेपछि सबैलाइ मनपर्ने कुरा बनाउनु नै संभव छैन’ सर्सर्ति हेर्दा कुरो ठिक हो तर यो दर्शकहरुलाइ ‘तिमेरु सिनेमा बुझ्दैनौ’ भनेजस्तो कुरा भयो । बनाएको सिनेमाले सबैलाइ खुसी नबनाउला, सबैलाइ मनोरञ्न नदेला तर मन नपराउनेको तुलनामा मन पराउनेको संख्या बढी भयो भने सिनेमा ब्यापारिक रुपमा सफल हुने हो। ‘लुट’ मन नपराउनेहरु पनी नेपालमा थुप्रै होलान तर बहुसंख्यकले मन पराएको हुनाले लुटले ब्यापारिक फडको मारेको हो। रह्यो कुरा कसैलाइ मनोरञ्जन गर्ने कुराले कसैलाइ मनोरञ्जन नगर्ला भन्ने । जसरी संगीत र कलाको कुनै सीमारेखा हुँदैन त्यसरी नै मनोरञ्जन भन्नेकुरो पनी युनिभर्सल कुरा होइन र ? च्यार्ली च्याप्लिनका शो हरु हेर्दा हामीपनी त हाँस्छौ, खाली पश्चिमाहरुमात्र हाँस्ने भन्ने त छैन। धुमको हकमा पनी भएको यही हो, धुम हेर्दा दर्शकहरुले मनोरञ्जन पाए, मन पराए अनी राम्रो रहेछ भने, थपले हेरे । मलाइ सिनेमामा गीत राखेको मन पर्दैन तर मैले धुममा गीत छन, यो वाहियात फिल्म भन्न त मिलेन नी ? जब दर्शकहरु ती गीत र स्टन्टहरुबाट मनोरञ्जित भँैरहेका छन भने त्यो ठाउँमा मैले सिनेमाको इतिहास, ब्याख्या र आयामहरुका बारेमा कुरा गरेर धुमलाइ खराव फिल्म प्रमाणित गर्न लागिपर्नुको अर्थ छैन ।

हाम्रोमा राम्रा निर्देशकहरु हुनुहुन्छ, कोही अलि कन्ट्रोभर्सियल बिषयलाइ उठाएर चर्चामा आउन खोज्नुहुन्छ कोही साँच्चै नै राम्रो फिल्म बनाएर चर्चामा आउन खोज्नुहुन्छ, हरेक ठाउँमा हुने कुरा हो यो तर मलाइ चित्त नबुझेको के मा भने, राम्रो फिल्म बनाएर पनी चलेन भन्ने ? तर्क गर्यो ँभने तर्कमाथि तर्क निस्कन्छन यहाँ । राम्रो सिनेमाको परिभाषाकै बारेमा यहाँ हजारौ तर्क निस्कन्छन । हेरुञ्जेल बाँध्नसक्ने, बोर नगराउने फिल्म राम्रो फिल्म हो । रुवाओस, हँसाओस, आक्रोशित बनाओस अथवा कुनैपनी संवेदना मनमा जगाओस तर हेरुञ्जेल हाइ काढने नबनाओस । मेरानिम्ति त्यही उत्कृष्ट सिनेमा हो। तपाँइले सिनेमा बनाउनुभएको होला दरबार हत्याकाण्डका बारेमा । लौ मानेँ, बिषय तगडा छ तर हेर्दा पहिलो १० मिनटबाट नै हाइ काढने अवश्था आयो भने राम्रोमान्ने की नमान्ने ? संवेदनशील बिषयका बारेमा बनेको सिनेमा हेर्ने दर्शक नै नेपालमा छैनन भनेर आफै ठुलो बन्न खोज्ने ? बिषय संवेदनशील छ भने सिनेमा हेर्दा त्यो संवेदनशीलता झल्कनुपर्यो की परेन ? एउटा अँध्यारो कोठामा सिनेमा सक्नुपर्ने, हैन किन यस्तो भन्यो भने सिनेमाका आयाम अनी समाजमा सिनेमाको प्रभावका बारेमा सानोतिनो प्रवचन नै दिने, यो तरिका त अली भएन नी ।

सिनेमाको प्रिमियर राखिन्छ एउटा महँगो हलमा अनी बोलाइन्छ समाजका लब्धप्रतिष्ठित ब्यक्तिहरुलाइ । उनीहरु निशुल्क सिनेमा हेर्छन अनी अगाडीपट्टि क्यामेरा तेर्सायर सोधिन्छ ‘सिनेमा कस्तो लाग्यो ?’ अब ती महाशय जसलाइ निशुल्क सिनेमा हेर्न बोलाइएको छ पेप्सी र पपकर्नका साथमा, उनले कसरी भनुन, हेर बाबु तिमीले बनाउन त खोजेका हौ तर खै के हो के मिलेन, बडो कष्टपुर्वक हेरियो भनेर ? आडम्बरको समाजमा हामी बाँचेका छौ, ती महाशयले मनमा लागेको बोलीहाले भने उनलाइ अबका त्यस्ता कार्यक्रमहरुमा बोलाइन्न अनी सम्बन्धपनी बिग्रन्छ त्यसैले उनी रिस्क मोल्न चाहन्नन र भन्दिन्छन ‘सुपर्ब…अदभुत, कायापलट पारिदिनसक्ने, संवेदनशील’
समस्या यहाँनिरै छ । एउटा झुठले निर्देशकलाइ त घाटा हुन्छ हुन्छ सिनेमाका संभावित दर्शकहरुमाथिसमेत अन्याय हुनजान्छ अनी फैलन्छ सम्पुर्ण नेपाली सिनेमाहरुप्रति बितृष्णा।

दर्शकहरुले सिनेमा स्विकारिदिन्नन, निर्माता घाटामा जान्छ। कुरो यहीँ टुङगिदैन, टिकट नकाटी सिनेमा हेरेका गण्यमान्यहरुले निर्देशकलाइ दिएको कमेन्टले उसले फेरि अर्को पनी यस्तै सिनेमा बनाउने काममा जुटछ र यो प्रबृत्तिको पुनराबृत्ति भैरहन्छ । मेरो सिनेमालाइ दर्शकले किन अस्बिकार गरे ? आत्मसमिक्षा खोइ ?

शहरमा धुम चलिरहेको छ । दर्शकहरु तँछाडमँछाड गर्दै टिकट बुक गरिरहेका छन। हामी सबैको चाहना छ, नेपाली सिनेमाको क्रेजपनी यस्तो भैदियोस, आशापनी छ कुनै दिन होला भन्ने तर जुनदिनसम्म दर्शकले चाहेको मनोरञ्जनलाइ प्रधान मानिँदैन । सिनेमाको मेरुदण्ड त्यसको कथा र प्रस्तुतिलाइ नमानेर प्रबिधि र क्रिउ लाइ मानिन्छ त्यो दिनसम्म हाम्रा सिनेमाहरुले भोग्ने नियति यही हो । सिनेमाका आयाम र समाजमा यसको प्रभावका बारेमा गरिने तर्कहरु कुनै सेमिनारमा प्रस्तुत गरिने प्रतिवेदन तयार पार्न काम लाग्लान तर एउटा सिनेमाका निम्ति हेरिदिने दर्शकहरुभन्दा ठुलो कोही छैन, बाँकी बुद्दिबिलासका कुराहरु हुन ।

यहाँ बहसहरु चलिरहन्छन । धुम अनी दबङहरु हेर्न दर्शकहरुको ओइरो किनलाग्छ भनेर केही कप चिया र चुरोटहरु खर्चिइन्छ । धुम र दबङ चलेका होइनन, आमीर र सलमान खानको क्रेज चलेको हो भनेर ती फिल्महरुलाइ हामीले डिसमिस पनी गरिदिन्छौ तर दुखको कुरा, दर्शकलाइ च्याप्पै छोप्ने सिनेमा उनीहरु बनाएको बनाइ छन, हामीहरु आलोचना र प्रशंसामा चियाका कप रित्याइरहेका छौ। हामी दर्शकलाइ अबुझ मान्छौ, उनीहरु दर्शकलाइ बुझाइरहेकाछन अनी हाम्रोजस्तो सानो देशमा पनी करोडौ रुपैयाको ब्यापार गरिरहेका छन। उनीहरु काम गर्छन, हामीलाइ ब्याख्या गर्न आउँछ ।

बलिउडले दर्शकहरुको बदलिँदो टेस्टअनुसारका सिनेमा निर्माणलाइ तिब्रता दिइरहेका बेलामा हामी मलेशियामा ‘नेफ्टा एवार्ड’ गर्ने तयारिमा छौ । ती एवार्डहरुप्रति हाम्रा आफ्नै दर्शकहरु अनबिज्ञ छन, जतिलाइ थाहा छ ती पनी बितृष्णित छन। एवार्डको चिन्तापहिले हामीले दर्शकलाइ हलसम्म तान्ने सिनेमाहरु बनाउनुपर्ने होइन र ? पारदर्शि ब्यापारका लागी बक्सअफिस सिष्टम लागु गर्न दबाब दिनुपर्ने होइन र ? अचम्म छ यहाँ । नेफ्टा अनी यस्तै यस्तै एवार्ड कार्यक्रमहरु यहाँ भैरहन्छन, न यी एवार्ड दिनेहरुलाइ गौरव छ न थाप्नेहरुलाइ ?

काठमाडौमा चिसो ब्यापक बढेको छ । म बालुवाटारस्थित छतमा बसेर टिठलाग्दो घाम जो आफै जाडोले कठयाङग्रिएको छ, उसलाइ ताप्ने अभिनय गरिरहेको छु । पल्लो घरकी केटीले किचनको फोहोर कौसीबाट बाहिरको खाली ठाउँमा फाल्छे जहाँ मेरो मोटरसाइकल पार्क गरिएको छ। प्याज,आलुका बोक्रा, थोरै दही अनि गोलभेँडाका गीलो अंश मोटरसाइकलको सीटमा प्याच्च झर्छ र छरिन्छ ।
म चुपचाप त्यो अनाकर्षक केटीलाइ हेरिरहेछु जसलाइ फोहोर मोटरसाइकलमा झरेको थाहा छैन । उ किचनमा ग्यास स्टोभ पुछिरहेकी देखिन्छे ।

हामी त्यही केटी हौँ, जसले दर्शकहरुमाथि किचनको फोहोर फालिरहेका छौ र किचन सफा गरेको भ्रममा बाँचिरहेका छौँ ।

Image: Google

You Might Also Like

1 Comment

  • Reply sachin January 3, 2014 at 8:39 am

    पत्र पत्रीका मा आउने फिल्म रिभ्यु को कुरा छुटे जस्तो लाग्यो।

  • Leave a Reply