सिनेमा

Chasing Ice

September 21, 2013

फिक्सन सिनेमाहरु प्रशस्त हेरेपनी डकुमेन्ट्रिको नियमित दर्शक म हैन । नेपाली भाषामा बनेका केही डकुमेन्ट्रिहरु हेरेपछि डकुमेन्ट्रि हेर्ने मोह हराएको थियो ।

केही दिनअघि IMDB मा राम्रो रेटिङ पाएको एउटा डकेमेन्ट्रि Chasing Ice डाउनलोड गरेको थियँ । पछिल्लो एकेडेमी एवार्डमा नोमिनेशनमा परेको रहेछ । हेरौ न त भनेर हेरियो यो 75 मिनटको डकुमेन्ट्रि, पछुतो लागेन।

अहिले सारै हल्ला गरिने एउटा बिषय Climate Change पनी हो । यो बिषयमा हरेकतिर कुरा भएको देख्छु, सुन्छु र पढछु । नेपालमा पनी बिभिन्न होटलहरुमा मौसम परिवर्तनसम्बन्धि सभा, गोष्ठी र सेमिनारहरु चलिरहेका हुन्छन प्रायजसो। समाचारहरुमा आइरहने अर्को कुरा हिमालयमा रहेका Glacier हरु पृथ्वीको बढदो तापक्रमले गर्दा पग्लँदै गइरहेका छन र तापक्रम बढनुमा अति-उध्योगीकरण, कार्बनडाइ अक्साइडको ब्यापक उत्पादन जिम्मेवार रहेको पढन पाइरहिन्छ। नेपालमा उध्योगिकरण नरहेपनी छिमेकी चीनमा उध्योगीकरण चरम हुनुले त्यहाँको बातावरण गंभिर अवश्थामा पुगेको रहेछ, सायद बातावरण बिग्रने डर र सस्तो जनशक्ति पाइने हुनाले पश्चिमा मुलुकहरुले Manufacturing का लागी चीनलगायतका एशियन मुलुकहरु छानेका होलान। सामानहरु उत्पादन गर्ने क्रममा मेशिन र इन्धनको प्रयोगले ब्यापक कार्बनडाइअक्साइड लगायतका रसायनहरुको उत्पादन हुन्छ जो स्वास्थ र बातावरणका लागी घातक मानिन्छ।

Chasing Ice मा नेशनल जियोग्राफीका फोटोग्राफर जेम्स बलोगले पृथ्विको बातावरण कसरी प्रभावित भैरहेको छ भन्ने देखाउन पृथ्वीका तिनवटा कन्टिनेन्टहरुमा ३ बर्षसम्म क्यामेराहरु राखेर कसरी हाम्रै आँखा अगाडी Glacier हरु पग्लिरहेका छन भनेर टाइमल्याप्स, फोटो र भिडियोमार्फत देखाएका छन । Chasing Ice जेम्स बलोगको प्रयाश, उनको खतरापुर्ण यात्रा, असफलता अनी सफलताको कथा हो र मुख्यत कसरी मौसम परिवर्तन भैरहेको छ र त्यसले पृथ्विमा बस्ने प्राणिहरुलाइ कसरी प्रभावित पार्नसक्छ भन्ने बुझ्न सहज पार्ने कथा हो । डकुमेन्ट्रिमा भनिएको छ, अहिलेको दरमा ग्लासियरहरु पग्लँदै जाने हो भने आगामी ३० बर्षमा पृथ्विबाट थुप्रै जीव-जन्तुहरु लोप हुनेछन।

ग्लासियर पग्लँदै जानुले समुद्रहरुमा पानीको सतह बढने र सुनामीजस्ता प्राकृतिक बिपत्तिहरु आउने भनिएको छ जसको लक्षण बेलाबखत देखिएको पनी छ ।

डकुमेन्ट्रिको बिषयबस्तु त यो भयो, यसको सिनेम्याटोग्राफी निकै कुशलतापुर्वक गरिएको छ। पृथ्वीको त्यो सुन्दर पाटो मैले देखेकै रहेनछु भन्ने लाग्यो हेरेपछि। सम्पादन, टाइम ल्याप्स, ब्याकग्राउण्ड म्युजिक लगायतका प्राविधिक कुराहरु अब्बल दर्जाका छन । हाम्रोतिर एउटा लहड देख्छु, डकुमेन्ट्रि फील दिन क्यामेरा हल्लाउने, ह्याण्डहेल खिच्ने र क्यारेक्टरहरुलाइ Raw देखाउनुपर्छ भन्ने खालका बिभिन्न कुराहरु । यी कुराहरु आफैमा राम्रो या नराम्रो नहोलान तर डकुमेन्ट्रि भन्दैमा हल्लाउनैपर्छ भन्ने नहुँदो रहेछ। बिषयमा भर पर्ने कुरा हो। चेलीबेटी बेचबिखनका बारेमा डकुमेन्ट्रि बनाइएको छ र बेच्ने दलाललाइ नेपाल-भारत सिमानामा फलो गर्दै गइएको छ भने क्यामेरा हल्लिनु स्वभाविक हो किनभने त्यहाँ हामी कसैलाइ फलो गर्दैछौ तर हरेक ठाउँमा ह्याण्डहेल नै गर्नुपर्छ भन्ने हुँदैन।
अर्को कुरा हाम्रोमा डकुमेन्ट्रिहरुले प्राय दर्शकलाइ बाँध्न सकेको देखिँदैन- NGO, INGO हरुका लागी बनाइने यी डकुमेन्ट्रि कम बिज्ञापन धेरै लाग्छन । अपवादका रुपमा केही राम्रा र कथानक पनी छन । दिपक रौनियारको ‘पुजा’ राम्रो छ। कुनै बिषयसँग सम्बन्धित म्यासेज दिँदादिँदैपनी यसले हेरुञ्जेल दर्शकलाइ बाँध्छ।

समाचारहरुमा हाम्रो हिमाली क्षेत्रका बरफका बिशाल टुक्राहरु पग्लँदै गैरहेका छन भन्ने पढदा म उति संवेदनशील हुँदिनथे किनभने त्यसको प्रभावका बारेमा मलाइ थाहा थिएन । Chasing Ice ले बातावरणका बारेमा मेरो मष्तिस्कलाइ थोरै भएपनी फराकिलो पारिदिएको छ।

स्तरिय भएरै होला यो 85 औ एकेडेमी एवार्डसम्म पुगेको ।

Image: Google

You Might Also Like

No Comments

Leave a Reply