साहित्य

सपाट लेखन

September 14, 2013

केहि बर्ष अगाडी बजारमा फाट्टफुट्ट रुपमा उपन्यासहरु आउँथे। त्यतिबेला पनी पढिन्थ्यो पुस्तकहरु । नारायण वाग्लेको ‘पल्पसा क्याफे’ले उपन्यासको बिक्रिमा नयाँ श्रृङखला शुरु गरेको जस्तो लाग्छ पाठकका रुपमा हेर्दा । माओवादी द्वन्दलाइ पृष्ठभुमिमा राखेर लेखिएको पल्पसा क्याफे त्यो समयको उत्कृष्ट उपन्यास हो तर नारायण वाग्लेको दोस्रो उपन्यास ‘मयुर टाइम्स’ चाँही खल्लो र सतही पुस्तक लागेको थियो पढेपछि।

सरुभक्तको ‘समय त्राशदी’ पढेका उपन्यासहरुमध्ये निकै मन परेको उपन्यास थियो । ध्रुवचन्द्र गौतमको ‘अलिखित’, सरुभक्तकै ‘पागल बस्ती’, धरावाशिको ‘राधा’, नारायण ढकालको ‘दुर्भिक्ष’, नयनराज पाण्डेको ‘उलार’ को लेखन शैली, पात्र र कथाको सेटिङ निकै शसक्त थियो । यी अलि पहिलाका पुस्तकहरु भए, पछिल्लो समय मन परेका पुस्तकहरुमा सुवीन भट्टराइको ‘कथाकी पात्र’ कथा संग्रह र बुद्दिसागरको ‘कर्णाली ब्लुज’ राम्रो लागेको थ्यो । मैले नपढेका अन्य राम्रा पुस्तकहरु पनी बजारमा प्रशस्त छन, कामको ब्यस्तता अनि बिबिध कारणले चाहेजतिका पुस्तक पढन नपाइरहेको अवश्था हो ।

केही दिनअगि सुबिन भट्टराइको ‘समर लभ’ पढेर सकेँ । कहिँकतै पढेको थियँ, उनको लेखन भारतिय लेखक चेतन भगतको जस्तो छ । पाठकले बुझ्ने सरल भाषामा लेखिएको र दैनिक जीवनमा प्रयोग हुने शैली प्रयोग गरिएको लेखन भनेर जुन पढेको थियँ, त्यो साँचो हो । सुबिनको पहिलो पुस्तक ‘कथाकी पात्र’ का छोटा कथाहरु पढेपछि नै मलाइ उनको लेखन मन परेको थियो तर ‘समर’ लभ’ मलाइ पहिलो पुस्तकजस्तो लागेन । उनले लेखन भगतको जस्तो सरल बनाउने कोशिस गरेका छन र त्यसमा सफल पनी देखिएका छन । दैनिक बोलीका लवजलाइ साहित्यमा ढालेका छन तर भगतका पुस्तकहरुमा हुने गहिराइ समर लभमा छैन । भगतको टु स्टेट मा भारतका दुइ फरक राज्यमा हुर्किएका केटा-केटीको प्रेम-सम्बन्धलाइ कथानक बनाइएको छ । समर लभमा पनी काठमाडौकी रैथाने शाक्य केटी र काठमाडौ बाहिरको बाहुन केटाबिचको प्रेमसम्बन्ध नै मुख्य कथानक बनाइएको छ । भगतको लेखनले प्रेम र सेक्सका बारेमामात्र नभनेर समाजका बिभिन्न आयामका बारेमा पनी कथाभित्र रहेर बयान गर्छ जसले पाठकलाइ उपन्यास पढदैगर्दा पात्रहरुसँग रिलेट गर्न सहज बनाइदिन्छ। सेक्स र प्रेममात्रले भगतलाइ बेस्टसेलीङ लेखक बनाउन पक्कै नसक्दो हो । चर्को बिज्ञापनले केही मान्छेहरुलाइ शुरुमा भ्रममा पार्न सकिएला तर अन्तिममा बिक्ने भनेको पुस्तकको कन्टेन्ट नै हो।

लेखन राम्रो छ । कथा सामान्य छ । साले, मुजी, गधा, बाल र लामो शब्दहरु भन्दैमा आधुनिक नभइनिरहेछ भन्ने कुरा अहिले हाम्रोमा सुनामीसरह आएका नेपाली सिनेमाहरुले पनी प्रष्ट पारेका छन। हाम्रोमा युवालाइ टार्गेट गरेर सिनेमा बनाउनु या लेख्नुपर्यो भने किन उत्ताउलोपनलाइ मापन बनाइन्छ भन्ने मैले बुझेको छैन। हुन त यो सिनेमा बनाउने या लेख्ने सर्जकमा भर पर्ने कुरा हो । सायद यसैले पनी होला मलाइ यतिबेला पनी लेखनमा नारायण ढकाल या जगदिश घिमिरे अनी सिनेमामा तुलसी घिमिरे र उगेन छोपेल नै राम्रा लाग्छन । समयको गति बुझ्न नसकेर म आउटडेटेट भैसकेको पनी हुनसक्छु अरुको नजरमा । त्यसमा आपत्ति भएन।

समर लभमा, फरक पृष्ठभुमिमा हुर्किएका अतित र सायाको प्रेमसम्बन्ध टियुको नोटिश बोर्ड, कक्षाकोठा, प्रयोगात्मक भ्रमणहरु, क्याजुअल सेक्स, जागिर, बिदेश यात्रा हुँदै बियोगमा टुङगिन्छ तर सायाले अतितलाइ छाडनुको कारण मैले भेटाउन सकिन। केही पृष्ठहरु दोहोरायर पनि पढेँ।
पाठकका रुपमा समर लभ मलाइ, आकर्षक कभरमा चलाख ब्यापारिले प्रस्तुत गरेको सामान्य कथा लाग्यो । सपाट लेखन। हृदयबाट लेखिएको छैन, लेखक बन्नलाइ लेखिएको छ । नेपाली पुस्तकका नियमित पाठकहरुले बुझेको हुनुपर्छ, अचेल गहकिला पुस्तकहरु आवश्यक बिज्ञापन नपाएर प्राय: पुस्तक पसलेहरुका भित्रि रयाकहरुमा हराइरहेका हुन्छन भने सतही लेखनहरु केहि समय निकै चर्चामा रहन्छन र नउठने गरि सेलाउँछन । यसमा बिभिन्न कारणहरु हुनसक्छन, पहिलो लेखक स्वयं सोसियल साइट फ्रेण्डली नहुनाले उसको कृतिको चर्चा हुनुपर्ने जति नभएको हुनुपर्छ, अर्को उसले आफुजस्तै प्रकाशन गृहबाट प्रकाशित गराउँछ जुन चर्को बिज्ञापन र धुमधडाका गर्ने क्षमता राख्दैन। बिज्ञापन नहुँदा पुग्नुपर्ने माससम्म पुस्तक पुग्दैन। तर पुस्तक पठनिय छ भने त्यसले आफ्ना पाठकहरु भेटाउँदो रहेछ समयक्रममा । अहिलेपनी सरुभक्तका पागल बस्ति र समय त्रासदी होस या नारायण ढकालका दुर्भिक्ष, ध्रुबचन्द्रको अलिखित खोज्ने पाठकहरु प्राय: पुस्तक मेला र पसलहरुमा देखिन्छन।

पछिल्लो पुस्ताका लेखकहरुमा बुद्दिसागरको लेखन शसक्त लाग्छ मलाइ । उनको लेखनमा ग्रामीण परिवेषको सजीव बर्णन गरिएको हुन्छ र कथ्यको गहिराइमा पुगेर लेखिएको हुन्छ तर उनी प्राय: कथाहरुमा बा र छोराको सर्कलबाट उम्कन नसकेको देख्छु। आफ्नै बारेमा लेख्नुको पनी एउटा सीमारेखा हुँदो हो । उनको लेखनमा पाठकलाइ अडयाइराख्ने क्षमताचाँही छ। नयनराज पाण्डे अर्का राम्रा लेखक हुन।

कम्तिमा अहिलेसम्म हाम्रोमा लेखनको अवश्था सिनेमाजत्तिको दयनिय भइसकेको छैन । लेखनलाइ बौद्दिक कार्यका रुपमा लिइन्छ भने सिनेमाप्रति आममान्छेको धारणा सतही ब्यक्तिहरु लाग्ने क्षेत्रका रुपमा छ । कतै नबिकेका र कुनै सृजनशीलता नभएका, सस्तो यौन बिम्ब प्रयोग गरेर भद्दा सृजना बनाउने मान्छेहरुका रुपमा सिनेमामा लागेकाहरुको चित्रण गरिन्छ। सिनेमा भन्न लाज लाग्ने सिनेमाहरु बनेर आजको अवश्था आएको हो । सपाट लेखनहरुको बिगबिगि हुने हो भने भोली लेखनमा लागेकाहरुलाइ गंभिर रुपमा नलिने अवश्था आउन पक्कै सक्छ। सपाट लेखनका लागी ब्यक्तिगत ब्लग खोलेर लेख्नु उत्तम हुन्छ, कम्तिमा यहाँ मेरो यो सपाट लेखन पढन पाठकले पैसा खर्च गरिरहनु त पर्दैन।

Image Source: Onlinekhabar

You Might Also Like

2 Comments

  • Reply निर्मल September 17, 2013 at 11:23 am

    राम राम ब्रो!
    तपाइँको समिक्षा राम्रो लाग्यो | मैले यो पुस्तक पढ्नु केहि दिन अघि मात्र चेतन भगतको टु-स्टेट्स पढेको थिएँ | कता-कता लेखकले त्यहीं किताब नै अगाडी बसेर लेख्न बसेको हो कि भन्ने भान पनि भएको थियो |
    जे होस फर्मुला पुरानै भए पनि साधारण भाषामा लेखिएकोले पढुन्जेल दिक्क भने लागेन |

  • Reply जुन September 18, 2013 at 4:37 am

    रामराम निर्मल ब्रो ।
    मेरो यो सपाट लेखन पढनुभएकोमा धन्यवाद । समर लभ ठिकै हो लेखनका हिसाबले सरल छ, पढदा दिक्क लाग्दैन ।

  • Leave a Reply