Spirituality

बिपश्यना

August 19, 2013

केहिबर्ष अगाडी मैले जब बिपश्यना ध्यानको शिविरमा जाने प्रण गरेको थियँ तर समय जुरिरहेको थिएन । पहिलो कुरा त नेपालबाहिर थियँ, नेपाल गएपछि जानेछु भन्ने योजना थियो । नेपाल फर्केपछिपनी बिभिन्न ब्यस्तताहरु एकपछि अर्को । एकदिनचाँही जमलस्थित अफिसमा पुगेर फारम भरेको थियँ र केहि दिनपछि बुढानिलकण्ठस्थित धम्मश्रृङगमा पुगेर १० दिनको शिविरमा बसेर फर्केको थियँ । सबैलाइजस्तै पहिलो ३-४ दिन गारो भयो तर गारो हुनेछ भन्ने थाहा भएरै आएको हुनाले मनले जित्न पाएन, पछिल्ला दिनहरु सहज बन्दै गएका थिए । त्यो दश दिने ध्यान शिविरपछि के परिवर्तन आयो त या यो बजारमा चलेको आध्यात्मिक बन्ने लहडको अर्को श्रृंखला हो भनेर केहि महिनापछि आत्म-मुल्यांकन गर्दा केहि परिवर्तनहरु भेटाएको थियँ आफुमा-

  • -सधै बहिर्मुखी बनेर संसार हेरियो तर अन्तरमुखी बनेर आफैभित्र हेर्न सिकिएको रहेनछ । मैले भनेको फलानोले
    मानेन या म जस्तो बनेन भनेर दुखित बनियो तर उ जे जस्तो छ त्यसलाइ त्यहीरुपमा स्विकार्नुपर्छ भन्ने
    तत्वज्ञान म मा रहेनछ जसले बेला-बख‍त मलाइ दुखको सागरमा डुबाउँदो रहेछ, त्यो हटयो।-मन्दिर जानु, ढुङगा पुज्नु या टीका लगाउनुलाइ धार्मिकताको मापदण्ड मान्न छाडियो । जीवन जस्तोरुपमा आउँछ त्यहीरुपमा स्विकार्दै राम्रोको निम्ति प्रयाश जारि राख्न सिकियो ।
  • -मुख्य कुरा राम्रो या नराम्रो सबै अनित्य छन । केहि कुराको पनी स्थायित्व छैन । शरिर, सम्बन्ध अनी प्राप्तिहरु क्षणिक हुन, साथ रहुञ्जेल ती सबैको आनन्द उठाउँ तर जसरि म एकदिन माटोमा बिलाउनेछु त्यसरि नै सबैकुराहरु बिलाउनेछन । ब्यर्थको चिन्ताको अर्थ छैन भन्ने बुझियो ।
  • सानोमा स्कुल पढदा बुद्दका केही उपदेशहरु पढिएकै हो र माथिका कुराहरु हामीमध्ये प्राय:लाइ थाहा नभएको पनी हैन तर १० दिने बिपश्यनाले सबै कुरा छोडेर एकपल्ट आफुभित्र हेर्न सिकाएकोचाँही हो । सुख या दुख दुबै हाम्रो मस्तिस्कले निर्धारण गर्ने भ्रमबाहेक केही रहेनछन तर मान्छे स्वभावैले दुखतिर ढल्कन रुचाउँदोरहेछ । बियोगान्त कथा, सिनेमा र साहित्यहरु मान्छेको रोजाइमा पर्छन । उत्सव, रमाइलो र उल्लासलाइ अधिकांशले जीवनको अनिवार्यता मान्दैनन तर हाम्रो बास्तविक स्वभाव भनेको उत्सव, दया र प्रेम नै हो । हो, हामी हुर्केको परिवेषले बोल्न र सोँच्न जान्नुपुर्व नै हामीलाइ हिन्दु, मुस्लिम, ब्राम्हण, शुद्र, धनी या गरिबको लेप लगाइदिन्छ अनि हुर्केँदै जाँदा हामी त्यो लेपलाइ अझ बलियो बनाउँदै जाँदा रहेछौँ । हाम्रो परिवार, नातेदार र समाजले असल मान्छेको भन्दा सफल मान्छेको पुजा गर्छ । हामीलाइ असल बन्नुभन्दा पनी देश-बिदेश जता गएर भएपनी सफल बन्न सिकाइयो । आर्थिक समृद्दिलाइ को कति सफल छ भन्ने जाँच्ने मापदण्ड बनाइयो ।

    बिपश्यना शिविरमा बस्दा मैले केही दिन यो प्रतिष्पर्धा सबैलाइ साइड लगायर आफ्नो मन‍-मष्तिस्कका बारेमा बुझ्न पाएँ र शिबिरबाट बाहिर निस्केपछि हलुका महशुस गरेको थियँ । त्यसपछिका दिनहरुमा म १० दिने शिविरमा जाने समय मिलाउन त सकिन तर चारवटा शनिवारिय १ दिने शिविरमा बसेर त्यो इनर्जीलाइ रिन्यु गर्ने प्रयाश गरेँ ।

    २ महिनापछि म नेपाल फर्कँदैछु । अब बिदेश नजाने गरी । केहि सानोतिनो काम गरेर त्यहीँ बस्नेछु । बेला-बखत भैरहवास्थित घर जानेछु, बुवा-आमालाइ भेटनेछु । आमाको उपचार मेरो पहिलो प्राथमिकतामा छ । आमाको उपचार सकेपछिको प्राथमिकता एकपल्ट १० दिने बिपश्यना शिविरमा जाने छ । एक बर्ष बाहिर बस्छु, एउटा क्यामेरा र केही लेन्स किन्छु भनेर बाहिरिएको बस्दाबस्दै २ बर्ष बसेँ । केही पाउने यो दौडमा बास्तविक दुखभन्दा पनी मस्तिष्कले सृजना गरेका भ्रमपुर्ण दुखहरुबाट सबैजस्तै म पनी पिडित भएको महशुस गरेको छु । एकपल्ट यो सबै छोडेर शिविरमा बसेर आफुलाइ पखाल्न चाहन्छु । जीवन सारै ब्यस्त छ भनेझै लाग्छ । ब्यस्त पनि छ, १२-१४ घण्टाको दैनिक कामले दिक्कलाग्दो बन्दोरहेछ दिनचर्या तर अब मैले यो काम छाडेर नेपाल फर्कने निर्णय गरेको छु । जीवन ब्यस्त छ तर त्यहाँ बास्तविक ब्यस्तताभन्दा पनी मस्तिस्कले सृजना गरेको ब्यस्तपन हावी छ । यो ब्यस्तपनबाट १० दिन निकाल्नु सहज हुनेछैन सायद तर अरु कामलाइ पाखा लगायर बिपश्यना जाने योजनालाइ अब पछाडी पुराउनेछैन । जीवनलाइ सही ट्याकमा ल्याउनुभन्दा महत्वपुर्ण काम अर्को के हुनसक्छ ?

    काठमाडौको एउटा साथी, छोटा फिल्महरु बनाउँछ । गाली खान मनलाग्यो भने म कहिलेकाँहि उसलाइ रक्सी पिउने निम्तो दिन्छु । उ आउँछ, पिउञ्जेल प्रशस्त गाली गर्छ, खसाल्छ, बिशेष गरेर अरु पनी छन भने  । गाली र रक्सी दुबै हानीकारक छन स्वस्थ्य जीवनका लागी तर मान्छे आफैमा खोट भरिएको प्राणी हो । त्यहाँ प्रतिवादको काम छैन त्यसैले चुपचाप सुन्छु र पिउँछु । अर्कोदिन सद्दे हुँदा उसले बिर्सेको हुन्छ हिँजोका कुराहरु तर रक्सी पिउँदा उसले बोलेका केही कुराहरु सत्यपनी हुन्छन जुन उ सद्दे हुँदा भन्दैन त्यसैले सत्य सुन्न मन लाग्दा उसलाइ निम्तो दिन्छु । रक्सी नपिउँदा प्राय: उ चुपचापै हुन्छ मनभरि कुराहरु राखेर, त्यो बोझले थिँचिएर र रक्सी भित्र पस्दा बित्तिकै बोझ बिसाउँछ । उसको मनको बोझको मात्रा अनुहारमा झल्किएको देखेर निकै अघि मैले उसलाइ एकपल्ट बिपश्यना जाउ न, भए केही फाइदा होला नत्र घाटा त पक्कै हुनेछैन भन्ने सल्लाह दिएको थियँ । उसल प्रतिउत्तर दिएन । बार्तालाप बाटोको छेउमा भएको थियो, केहिदिनपछिको साँझ पिउँदा उसले त्यसको बारेमा पनी तुच्छ कुरा गर्यो, त्यसपछिका दिनमा मैले कुरा निकालिन ।

    जीवनको बोझले थिँचिदा सृजनशील मान्छेहरुपनी बेला-बखत सारै कटु बन्दारहेछन, अस्वभाविक रुपमा ।

    बितेका २ बर्ष ब्यस्तता र काममा बिते । चाहेको काम गर्न नचाहेको कामको भर्याङ चढनैपर्दो रहेछ । म कुनै आशा लिएर नेपाल फर्कन थालेको छैन त्यसैले निराश हुने संभावना क्षीण छ । जानुअघि बिपश्यना शिविरमा ठाउँ पाउन अनलाइन फाराम भरेर जानेछु ।
    एकपल्ट पखालिन आफैभित्रको सागरमा, यो दौडबाट केहिबेर साइड लागेर ।

    Image Source: Google

    You Might Also Like

    2 Comments

  • Reply Narendra Raule August 26, 2013 at 3:27 pm

    दाजु,
    पछिल्लो ब्लगहरु पढें । त्यसमध्ये बिपश्यना शिर्षकको ब्लग पढ्दा धेरै कुराहरुले मलाइ छोए । आफैलाई लागेका, महशुष भएकै कुराहरु पाए । म पनि पछिल्लो पटक म पनि तपोवन पुगें । कामबाट अलिकति विश्राम पाउदा बिपश्यना जान खोजिरहेको छु ।
    यि लाइनहरुमा सामान्य कुराहरु थिए । सरल लाग्यो । जानी नजानी सरल कुराहरुलाइ हामीले जटिल बनाइरहेका हुदा रहेछौं । यिनै ससाना भ्रमहरु हटाउन सके, बुझ्न सके मन हलुंगो बन्दो रहेछ । यतिबेला यस्तै महशुष भईरहेको छ ।

  • Reply Dorji Tsering Sherpa December 30, 2013 at 12:55 am

    You have done good to yourself and now your article will do good to many who do not know what Vipassana is and are confused and follow many other rituals. Metta

  • Leave a Reply