पुस्तक, सिनेमा

The Reluctant Fundamentalist – Book & Film

July 10, 2013

17619-thereluctantfundamentalistvsthebook-1370680122-916-640x480_zpse619e9e2
केही दिन अगाडी मोहसिन हमिदको The Reluctant Fundamentalist पुस्तक पढेर सिध्याएको थियँ र हिँजो राति सोही पुस्तकमा आधारित रहेर सोही टाइटलमा बनाइएको मिरा नायरबाट निर्देशित सिनेमा हेरेँ । यो पुस्तक पढनु र यो सिनेमा हेर्नु मेरा लागी निकै उत्साहजनक रह्यो । यसमा कारण के थिए भने, मिरा नायरको पहिलो सिनेमा जुन ओस्करमा 1989 को Best Foreign Language Film क्याटगोरिको नोमिनेशनमा समेत परेको थियो 1988 को ‘सलाम बम्बे’ले निकै प्रभावित पारेको थियो। त्यो समयमा पहिलो फिचर फिल्म नै त्यति राम्रो बनाउनु कम्तिमा मेरालागि चानचुने कुरा लाग्दैन।

डिसेम्बरमा अमेरिका जाने क्रममा दुबइमा ट्रान्जिट परेको थ्यो र डुयुटी फ्रिमा किनेको थियँ यो पुस्तक । उडान अवधिभर पढेको थियँ । अमेरिकी आँखाबाट मध्यपुर्व, पाकिस्तान र समस्त मुस्लिम समुदायलाइ हेरिने दृष्टिकोण रोचक थियो । इराक, अफगानिस्तान र मध्यपुर्वमा समय बिताएको मैले अमेरिकी आँखाबाट मुस्लिम समुदायलाइ हेरिने दृष्टिकोण फर्स्ट ह्याण्ड अनुभव गरेको थियँ । कहिलेकाँहि यो चपेटामा म जस्ता दक्षिण एशियाली नागरिकहरुपनी पर्थे । यो झ्याउलाग्दो कठोर चेकजाँचको घेरा हुन्थ्यो। निकैपल्ट मेरो मोबाइल र पेन ड्राइभ खोसिएको थियो, अपमानित गरिएको थियो र मेरो दारिप्रति नकारात्मक भरिएका आँखाहरुले हेरिएको थियो। तर तिनै हेराइहरुले मलाइ दारि राख्न प्रेरित गर्यो The Reluctant Fundamentalist को पात्रलाइ झैँ। उनीहरुलाइ मन पर्दैन भन्ने जान्दाजान्दै दाडी राख्नु मेरो मौन बिद्रोह थियो। कहिलेकाँही जब हामीमाथि मन नपरेको ठाउँमा काम गर्नु, मन नमिल्नेहरुसँग सहकार्य गर्नुपर्ने अवश्था आउँछ, त्यहाँ दुइटा अप्सन हुन्छन । या त आफुलाइ त्यो बातावरणबाट बाहिर निकाल्नु या सम्झौता गरेर कामलाइ निरन्तरता दिइरहनु । जीवनमा संझौता गर्नैपर्ने अवश्था धेरै सृजना हुन्छन जहाँ मान्छेले कुनै माध्यमबाट आफ्नो बिद्रोह प्रकट गरिरहेको हुन्छ। दारि राख्नु मेरो बिद्रोह थियो ।

मिरा नायर मैले सम्मान गर्ने फिल्ममेकर हुन । यो पुस्तक पढनुको कारण, पहिलो त मोहसिन हमिदका शब्दहरुभित्र पसेर पश्चिममा बस्ने एउटा पाकिस्तानीका आँखाबाट पश्चिमप्रति र मुस्लिम, पाकिस्तानलगायतका मध्यपुर्वि देशहरुप्रति पश्चिमको दृष्टिकोण हेर्नु थियो भने अर्को पुस्तक पढिसकेपछि सिनेमा हेरेर मिरा नायरले पुस्तकलाइ सिनेमामा कसरि रुपान्तरण गरिन भनेर हेर्नु।

शुरुमा पुस्तकबारे मेरो अनुभव लेखुँ ।

पुस्तक:

मुख्य पात्र चङगेज प्रतिष्ठित अमेरिकी बिश्वबिध्यालय Princeton मा फाइनान्स अध्ययनरत पाकिस्तानी युवक हो । Princeton अमेरिकाको Stanford, Yale को हाराहारिको माथिल्ला पाँच युनिभर्सिटिमा पर्ने शिक्षण संस्था हो। उपन्यास लाहोरस्थित कुनै सामान्य होटलबाहिरको कुर्सिमा बसेका २ पात्रहरुबिचको संवादबाट शुरु हुन्छ, एउटा चङगेज हो जो छेउमा बसेको अमेरिकी अधिकारिलाइ फ्लास ब्याकमा सम्पुर्ण घटनाहरु बताइरहेको छ । अमेरिका-पाकिस्तान-अमेरिका भैरहने मोनोलग हो यो। राजनैतिक उपन्यास जहाँ चङगेज न्युयोर्कस्थित धेरैले कल्पना गर्ने जीवन, जागिर, गर्लफ्रेण्डमा रमाउने अथवा मातृभुमि पाकिस्तान फर्कने भन्ने दुबिधामा रुमल्लिरहेको छ। फाइनान्सियल भ्यालुएसन कम्पनी Underwood Samson को उदाउँदो एक्जुकेटिभ चङगेजले फिलिपिन्सको मनिलास्थित कम्पनी भ्यालुएशन गर्ने क्रममा 2001 को सेप्टेम्बर 9/11 को घटना हुन्छ । त्यसपछि मुस्लिमहरुप्रति अमेरिकाले अपनाएको निती, अध्यागमनमा मुस्लिमहरुप्रति गरिने चेक-जाँच र हरेक मुस्लिमलाइ शंकाको दृष्टिकोणले हेरिने अमेरिकी समाजको चेपुवामा परेको चङगेज बिस्तारै यो सम्पुर्ण ब्यवस्थाप्रति आक्रोशित हुँदै जान्छ।

9/11 को घटनालगत्तै अफगानिस्तानमा आक्रमण गर्छ अमेरिकाले । न्युयोर्क लगायतका शहरहरुमा मुस्लिम क्याब ड्राइभरहरु पिटिन्छन र हरेक मुस्लिमलाइ बिन लादेनको मान्छे ठान्ने अघोषित बातावरणमा चङगेज आफुलाइ निसास्सिएको पाउँछ। काम गर्ने कार्यालयमा उसले पालेको दारिले प्रश्न जन्माउँछ । अमेरिकाप्रति उ के ठान्छ भन्ने प्रश्न गरिन्छ । चङगेजको एकातिर प्रिन्सटनको लोभलाग्दो डिग्रि छ जसले उसलाइ राम्रो जागिर र भौतिक सुबिधापुर्ण जीवनको ग्यारेण्टि गर्छ तर उ जहाँ पुगेपनी उ मुस्लिम हो, उ पाकिस्तानी हो र उ माथि शंका गर्न उ पाकिस्तानी हुनु र मुस्लिम हुनु पर्याप्त हुनेछ । उसलाइ जीवनभर यी शंकाहरुले छाडनेछैनन, उसको अमेरिकाभक्तिमाथि सधै प्रश्न उठाइनेछ । मानसिक अन्तरद्वन्दमा फसेको चङगेजले केही महिनापहिले मोटर दुर्घटनामा प्रेमी गुमाएकी एरिकालाइ भेटछ र उ प्रति आ‍कर्षित हुन्छ । उनिहरु एक-अर्कालाइ प्रेम गरेपनी एरिकाले दुर्घटनामा मरेको प्रेमीलाइ बिर्सन नसकेर मानसिक बिक्षिप्तताको बाटोतिर लागिरहेको स्थिति छ ।

चङगेज अमेरिका छाडेर पाकिस्तान फर्कन्छ, बिश्वबिध्यालयमा प्राध्यापन शुरु गर्छ तर बिध्यार्थिहरुलाइ अमेरिकाबिरुद्द क्रान्तिका लागि उक्साएको र अमेरिकी नागरिकहरुको बढदो अपहरण र हत्यामा चङगेजको संलग्नताको शंकाले पाकिस्तानभित्रैपनी उ अमेरिकी गुप्तचर र सुरक्षानिकायको नजरमा छ।

पत्रकारको भेषमा आएको सुरक्षा अधिकारिलाइ चङगेजले होटलबाहिरको कुर्सिमा भनिरहेको उसको कथा नै The Reluctant Fundamentalist हो । पश्चिमाहरु हरेक मुस्लिमलाइ संभावित आतंङककारिको रुपमा हेर्छन भने मुस्लिमहरु हरेक पश्चिमाहरुलाइ अन्डरकभर हत्याराको रुपमा हेर्छन । बातावरणमा शंका ब्याप्त छ। एक अर्काप्रतिको यही शंकाले निर्दोषहरु मारिएको मारिइ छन अनी युद्दहरु रोकिएका छैनन। पुस्तक पठनिय छ, मुख्यत मध्यपुर्व र मुस्लिमहरुप्रति अमेरिकी दृष्टिकोण बुझ्न।

सिनेमा:

पुस्तक सकेपछी टोरेन्टबाट फिल्म डाउनलोड गरेर राखेको थियँ । मिरा नायरले पुस्तकलाइ कसरि सिनेमामा रुपान्तरण गरेकी होलिन भन्ने उत्सुकता थियो। राम्रा पुस्तकहरु राम्रा सिनेमा बन्नसक्छन तर राम्रा पुस्तकहरु हेर्नै नसकिने सिनेमामा रुपान्तरण भएका उदाहरण हाम्रोमा छन, देवकोटाको मुना-मदन होस या पारिजातको ‘शिरिषको फुल’। बिशुद्द मनोरञ्जनमात्रै भन्दा पनी केही सिक्ने अवसरका रुपमा मैले यसलाइ लिएको थियँ।

सिनेमाको स्क्रिनप्ले लेखनमा स्वयं मोहसिन हमिदपनी संलग्न भएका रहेछन र पुस्तकलाइ सिनेमामा उतार्दा केही फेरबदलहरु गरिएका छन । केही दृश्यहरु हटाइएका छन, केही जोडिएका छन । जस्तो पुस्तकमा चङगेज र एरिकाको निकटता ग्रिस भ्रमणमा बढछ भने सिनेमामा त्यसलाइ न्युयोर्कमै देखाइएको छ । पुस्तकमा चङगेज एउटा प्रकाशन कम्पनीको भ्यालुएशन गर्न ‘चिली’ जान्छ जहाँ उसको भेट कम्पनीलाइ लामो समयदेखि चलाइरहेको बुढो प्रकाशकसँग हुन्छ । प्रकाशकसँगको भेटपछि चङगेजले अण्डरउड स्यामसन छाडने निर्णय गर्छ, सिनेमामा चिलिको साटो -इस्तानबुल, टर्कि बनाइएको छ। समग्रमा पुस्तक र सिनेमाले एउटै कुरा भन्छन तर पुस्तक पढेर सिनेमा हेरेपछि मैले के बुझेँ भने, पुस्तकलाइ सिनेमामा रुपान्तरण गर्नु गारो काम हो । जस्तो पुस्तक पढदा चङगेज र उसको अमेरिकन साथि वेनराइटबिचको आत्मियता निर्माण भएको स्वभाविक लाग्छ भने सिनेमामा हरेक कुराहरु छिटोछिटो भएको महशुस मैले गरेँ।

समग्रमा मिरा नायरको सिनेमाबाट केही सिकेको अनुभवचाँहि मैले गरेँ। सलाम बम्बेजस्तो सिनेमा बनाउने ती निर्देशक गजबकी लाग्छ । सिनेमाले प्राइमरि रुपमा मनोरञ्जन दिनैपर्छ तर त्यसको अर्थ सिनेमा मनोरञ्जनको मात्रै साधनचाँहि हैन। मनोरञ्जनसँगै सिनेमाले केही भनिरहेको हुन्छ । मिरा नायरले आफ्ना सिनेमाहरुमार्फत आफ्नो असन्तुष्टिपनी पोखिरहेकी हुन्छिन । फिल्ममेकरका रुपमा आफ्ना फिल्महरुमार्फत समाजसम्म आवाज पुर्याउने उनको कलाको प्रशंसक हुँ ।

अन्त्यमा पुस्तक पठनिय छ बिश्व राजनितिमा सामान्य रुचि राख्नेहरुका लागी । पुस्तकलाइ सिनेमामा रुपान्तरण गरेको हेर्न/सिक्न चाहनेहरुका लागी सिनेमा राम्रो छ ।
(Orginally Published on: July 10, 2013 – 2:11 pm)
Image Source: Google

You Might Also Like

No Comments

Leave a Reply