Adventure

First Flight

April 23, 2013

धेरै दिनपछि आज प्याराग्लाइडिङको बारेमा –

गएको बर्षको अन्त्यमा मैले पोखरामा प्याराग्लाइडिङ सिकेपछि अहिले एक्लै उडन सक्ने त भएको छु तर सोलो पाइलट बन्न आवश्यक ‘थर्मलिङ’ कोर्स गर्न बाँकी छ। समय अभावले अस्तिकोपल्ट कोर्स सक्न सकिन। सिक्ने क्रममा खासै भिडियो खिच्न नी पाइएन। म त्यसअघि कहिलै प्याराग्लाडिङमा उडेको थिइन, एकैपल्ट सिक्न गएँ। शुरुको फ्लाइटले नै यो खेल मेरालागि हो की हैन भन्ने थाहा हुनेछ भन्ने लागेको थ्यो मनमा, भयो पनी त्यस्तै, खेल मेरालागी रहेछ। पहिलो फ्लाइट गरेपछि मनको दुबिधा हटेर गयो। पहिलो फ्लाइट गर्ने क्रममा खिचेको माथिको भिडियो उडने ठाउँमा सानो डिजिटल क्यामेरा र झर्ने ठाउँमा आइफोनले खिचेको हो त्यसैले भिडियो क्वालिटि राम्रो छैन तर पछि केही बर्षपछि म Cross Country या Acro Pilot भएछु भने, आफु उडेको पहिलो भिडियो भनेर हेर्नुको आनन्द बेग्लै हुनेछ।

त्यतिबेलाको अनुभवका बारेमा लेख्छु-

प्याराग्लाइडिङलाइ आकाशमा स्वतन्त्रतापुर्वक उडन सकिने सबैभन्दा सजिलो उडान माध्यम भन्दा रहेछन मान्छेहरु। हामी सबै जहाजमा उडेका छौ, अग्लो घरको छतमा पुगेर तलपट्टि हेरेर कहालिएका छौ अनी नगरकोटको टुप्पोमा पुगेर काठमाडौ र भक्तपुरलाइ निहालेका छौ तर चराजसरी ग्लाइडरको सहायताले आकाशमा अनुहारभरि बतास महशुस गर्दै उडनुको आनन्द म यहाँ शब्दमा उतार्न सक्दिन। जब डाँडाको टुप्पोबाट उडेर पहाडबाट टाढाटाढा भइन्छ अनी उचाइ बिस्तारै बढदै जान्छ, तल घरहरु, चौर अनी गाइभैसीहरु स-साना देखीन्छन। उडिरहेको उचाइबाट 180 डिग्रिमा देखीने त्यो फराकिलो परिधि ओहो…। म बयान गर्न सक्दिन ।

आकाशमा उडनुअघि ३ दिनसम्म Ground Handling गरियो बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म । लेकसाइड फर्केर थ्यौरि कक्षा लिँदासम्म झमक्क रात परिसकेको हुन्थ्यो। ठाउँको नाम मैले बिर्सेँ तर हामीले Ground Handling गरेको ठाउँ पोखरा एयरपोर्टको छेउछाउ भएर गएका थ्यौँ । केही गाउँहरु काटेपछि बतास लाग्ने सानो चौर रहेछ, त्यहाँ ग्लाइडर कसरी समात्ने, राइजर र ब्रेक अनी ग्लाइडरलाइ कसरी प्याक गर्ने, कसरी मशरुम बनाउने अनी ग्लाइडरतिर नहेरि कसरि ग्लाइडर हावामा कहाँनिर छ भन्ने फिल गर्ने आदिका बारेमा सिकाइयो। प्याराग्लाइडिङमा बढेको आकर्षणले होला सिक्ने बिध्यार्थिहरु पोखरामा बढेका रहेछन अनी Ground Handling का लागि जाने चौरतिर जाने क्रममा दोस्रो दिन बिहान हाम्रो जीपलाइ बाटोमा केही मानिसहरुको समुहले रोक्यो । ती स्थानिय मान्छेहरु रहेछन, हामीहरुले त्यो चौर अनी बाटो प्रयोग गरेबापत गाउँलाइ आर्थिक सहयोग गर्नुपर्ने माग थ्यो । हाम्रि इन्स्ट्रक्चर अगाडी बसेकी थिइन, खैरेनी देखेर होला, स्थानिय युवाले ‘मनी….मनी’ भन्ने दोहोराए। सारै नमज्जा लाग्यो हाम्रो मगन्ते मानसिकता देखेर। पर्यटक हाम्रा पाहुना हुन अनी उनीहरुको सम्मान गर्छौ भन्छौ हामी तर पछिल्ला दिनहरुमा गोरो छालाप्रति गरिने ब्यवहार सारै लज्जाजनक छ। गोराहरु भनेपछि पैसाका खानी भन्ठान्छौ हामी । उनीहरुमध्ये कतिपयको त हाम्रोभन्दा गुज्रेको स्थिति हुन्छ, संसार डुल्नु र यायावर जीवन बिताउनु त उनीहरुको शैली हो। हामीलाइ उडन सिकाउने फ्रेञ्च नागरिक सबरिनाले सिगरेटको लामो कश तानेर ‘जानुस हाम्रो अफिसमा कुरा गर्नुस, लेकसाइडमा छ’ भनेर ब्लु स्काइको कार्ड दिइन र बल्ल जान पाइयो। अनी ३ दिनसम्म Ground Handling सिकियो । हामीले मोटर या मोटरसाइकल सिक्दा जसरी क्लच र गियरको ब्यालेन्स मिलाउन जति छिटो सिकियो त्यति छिटो मोटर चलाउन सजिलो हुन्छ त्यस्तै जति राम्रो Ground Handling भयो त्यति फ्लाइटमा सुरक्षित भैँदो रहेछ, आत्म बिश्वास बढदो रहेछ। यसमा बिशेषत Paragliding का Basic कुराहरु पर्दा रहेछन तर हरेक कुरामा झैँ सबैभन्दा महत्वपुर्ण त Basic नै हो।

अर्को दिनको Ground Handling गर्न उता सराङकोटको फेदमा पुगियो, त्यहाँ मैले माथि सराङकोटबाट उडेर आएका प्याराग्लाइडरहरु ल्याण्ड गरेको देखेँ अनी सोँचे यसरी उडन म कहिले सकुँला ? मलाइ थाहा थिएन, भोली नै रहेछ त्यसरि म उडने।

तेस्रो दिनको Ground Handling सकिएपछि साँझ भोली को को उडने भनेर अर्को प्रशिक्षक म्याथुले नाम टिप्न थाल्यो । केटाहरुले म उडने म उडने भन्न थाले र पालो टिपियो । उनीहरु प्याराग्लाडइरसँग म भन्दा बढी अभ्यस्त थिए किनभने हामीमध्ये दुइजना बिदेशिहरुमा एउटा जहाजको पाइलट थ्यो अनी उ Aeronautical Engineer पनी अनि अर्कोचाँही टर्कीमा गएर उडिसकेको रहेछ र त्यही एकपल्ट उडेपछिको चस्काले सिक्न आएको रहेछ । नेपालीहरुमध्ये पनी म बाहेकका सबैजना पोखराकै थिए। भिडियोमा देखेको बाहेक बाहिर प्रतक्ष्यरुपमा मैले ग्लाइडर ३ दिन अगिमात्र छोएको थिएँ।

‘म पनि उडछु तर मलाइ ३ जनापछि राख प्लिज’ भने मैले म्याथुलाइ । उसले चौथोमा उडनेमा राख्दियो । त्यसपछि नुहायर एउटा रेष्टुरेन्टमा बसेर सोँचेको थियँ- पहिलो फ्लाइटमै डाँडाबाट खसियो भने के होला ? डरको भाव आउँदो रहेछ। जाडो थ्यो, एक ग्लास रम, हनी र लेमन मिसायर पिएपछि मनले सोँच्यो- खसियो भने खसिएला ।

अर्कोदिन बिहानै उठेर ब्लु स्काइको अफिस लेकसाइडमा पुग्दा केही साथिहरु आइसकेका थिए। सिकुञ्जेलसम्मका लागी हरेक बिध्यार्थिको निम्ती एउटा ग्लाइडर, हार्नेस (बस्ने सीट), हेल्मेट र प्यारासुट छुट्टाइएको हुन्थ्यो । म Hari लेखिएको ग्लाइडर ब्याग बोकेर महिन्द्राको छतमा हालेँ। केहिबेरमा जीप सराङकोटको उकालोमा थ्यो, सराङकोट कटेपछि हामी मान्द्रेढुङातिरको कच्चिबाटोमा थ्यौँ । सडक अचाक्ली ढुलोले भरिएको रहेछ। सबैजना धुलोले ढाकिए । जीपले उडाएको धुलोले सडकमा हिँडिरहेका बाख्रा र मान्छेहरु अम्रिकातिरबाट आएका खैरेजस्ता देखिन्थे। एउटी राम्रि मैयाँ हातमा पुस्तक बोकेर कतै जाँदैथिइन, ड्राइभरले झन कुदायो ती पनी खैरेनी बनिन । ‘तँलाइ मर्न नसकेको असत्ति’ भन्ने बाक्य बातावरणमा केहीबेर सुनियो र धुलोसँगै हरायो।

मान्द्रेढुङगा डाँडोमा पुग्नुअगी जीप तल फेदमा रोकियो र त्यहाँबाट ३० मिनटजति हिँडन पर्दो रहेछ उकालो । केही महिला र बिध्यार्थि थिए त्यहाँ । उनीहरुले १०० रुपैयाँमा ग्लाडइरको ब्याग माथिसम्म पुराइदिँदा रहेछन।

‘उडनको लागी इनर्जी चाहिन्छ, जोगाइराख’ भनेपछि मैले मेरो ग्लाइडर एकजना भाइलाइ दिएँ। उनले पुर्याए ।

डाँडामा पुगेपछि शुरुमा शिव उडे । म चौथोमा थियँ, त्यसैले उनीहरु उडदा गर्ने कृयाकलापहरु हेरेँ। डाँडा उत्तरबाट दक्षिण फर्किएको थ्यो अनी बिहानको घाम बिस्तारै डाँडामाथि पुग्दै थ्यो । शीतका थोपाले जुत्ता ओसिएका थिए। पोखरा उपत्यका अनी तालमा परेको घामले बिस्तारै पहाड तात्दै थ्यो अनि तातो थर्मलिङ हावा बातावरणमा छरिँदै थ्यो । ग्लाइडरलाइ माथि उडाउने त्यही तातो हावाले रहेछ। हामीसँग टेकअफमा गाइड गर्नको लागी सबरिना थिइन अनी ल्याण्डिङमा म्याथु र ग्यारि थिए । हामी उडेपछि उनीहरु हाम्रो छातिमा झुण्डयाइएको रेडियोमार्फत निर्देशन दिन्थे।

पहाडको टुप्पोमा पुगेपछि केहिबेर रेष्ट गरियो र उडने पालोमा रहेको साथिले आफ्नो ग्लाइडर भुँइमा ओछयायो । राइजर र ब्रेकका धागाहरु खुला पार्यो अनी हार्नेश र हेल्मेट लगाएर तयारि अवश्थामा बस्यो । हावाको गती हेर्नुपर्दोरहेछ। बढी गतिको हावा खतरा हुँदोरहेछ भने कम गतिकोमा उडदा ग्लाइडिङ रेसियो बढी भएर ल्याण्डिङ प्वाइन्टभन्दा पहिलै झरिँदोरहेछ जंगल, पहाड, झरना, खोला या बगरतिर।

शिव अनि दोस्रोमा जहाजको इञ्जिनियर उडेपछि तेस्रोमा उडने बिकास भाइको पालोमा खै के मिलेन उनी त उडेपछि सिधै तलतिर पो झरे धन्नै तल केराको रुखमा ठोक्किएका । लौ यी त गए जस्तो लागेको थ्यो हावाले उठाएछ…..उडिहाले । गल्ती के भएको रहेछ भने, जब ग्लाइडरसहित कुदन शुरु गरिन्छ पहाडको छेउमा (Edge) मा पुगेपछि उनी ग्लाडइरले उडाउला भनेर पाइला रोकेछन अनी तलतिर गएछन माथि जानुपर्नेमा, धन्न तल उनले Thermal Air भेटेछन जसले ग्लाइडरलाइ माथि उठायो।

माथि भिडियोमा नोटिश गर्नुभयो या भएन, म हार्नेस र हेल्मेटसहित उभिएको छु, ग्लाइडर तयारि अवश्थामा छ, सबरिना उपर्युक्त हावाको पर्खाइमा छिन ‍तर जब त्यो उपर्युक्त हावाको साइकल आउँछ सबरिनाले 3,2,1…..inflation….& run भनेपछि पहिलो पाइला बढाउने बेला मेरो मुटुमा डरको एउटा तरंग दौडिएको थियो तर पछाडी फर्कने कुरा थिएन, राम भरोषे भनेर कुदेको स्थिति हो । जब पैतालाले जमिन छोडेर हावामा पुग्छ र पहाडबाट टाढाटाढा भइन्छ, अलि सुरक्षित महशुस हुँदोरहेछ । बिचमा पुगेपछि त म सीटमा बसेर इन्स्ट्रक्चरले भनेझैँ ग्लाइडर कन्ट्रोल गरेर बसेँ । टाढा‍टाढासम्म पहाडहरु देखिए । त्यो चौडा क्षितिजमा म पहाडहरुभन्दा माथि थियँ । बतासले जीउमा छोइरहेको थ्यो । जहाजहरुमा धेरैपल्ट उडिएको थ्यो तर खुला आकाशमा बतासलाइ छुँदै यसरि उडिएको थिएन । मलाइ त्यो अनुभव साँच्चैकै अनुपम लागेको थ्यो a state of complete bliss….

रेडियोमा इन्सट्रक्चरको निर्देशन सुनिरहेँ । आकाशमा गर्नुपर्ने Big Ear, Eight र Down Wind Exercise गरेँ अनी पामेमा म्याथु र ग्यारिको निर्देशन रेडियोमा सुन्दै ल्याण्ड गरियो । ल्याण्ड गर्ने ठाउँमा एउटा घर, केराको रुख र पारिपट्टि डाँडा थ्यो । ग्लाइडरको गती 40-45kmph हुँदो रहेछ त्यसैले पारि डाँडातिर ल्याण्ड होला र जंगलमा हराउलान भन्नेमा सचेत हुँदारहेछन प्रशिक्षकहरु। पहिलो ल्याण्डिङ चाँही ass landing भयो तर हार्नेसमा हुनाले खासै लागेन। ल्याण्डिङ प्वाइन्टमा साना नानिहरु हामी उडेको हेर्दै उत्साहित हुँदारहेछन अनी ल्याण्ड हुँदाबित्तिकै ग्लाइडर प्याक गर्न खोज्दा रहेछन 20 रुपैयाँ चार्जसहित। तिनदिनसम्म त्यहाँ ६ वटा फ्लाइट ल्याण्ड हुँदासम्ममा केही बच्चाहरु साथि बनेका थिए।

बिचमा एक दिन ब्रेक लिएर हामी बन्दीपुर गयौँ र त्यहाँ ३ दिन बसियो र चौथो दिनमा फर्कियो पोखरा। बन्दिपुरमा उडन रमाइलो ठाउँ रहेछ तर मलाइ पोखरा नै ठिक लाग्यो। सिक्ने बेलामा एकदम थाकिँदो रहेछ। शारिरिक श्रम प्रशस्तै हुने।

12 दिन पोखरा बसेर प्याराग्लाइडिङ सिक्दा मैले केही साथिहरु बनायँ। म काठमाडौँ फर्कनुअघिको साँझ साथिहरु लियोन र केशबले दामी गीत गाउने रेष्टुरेन्टमा जाउँ भनेपछि एकतला माथिको रेष्टुरेन्टमा गइयो । त्यहाँ नेपाली गीतहरु लाइभ गाउँदा रहेछन। फर्माइस गर्न भने, मैले नी 1974 AD को ‘पहिलो जुनीमा….सायद तिमी नै पो थियौ की…पहिलो जुनीमा’ भन्ने गीत अनुरोध गरेँ। सुनिरहुँजस्तो मीठो पाराले गाए उनीहरुले। कम्पनी दिउँ भनेर बसेको प्रसस्तै पिइएछ। राति १२ बजेतिर होटलमा फर्किँदा एक ठाउँ पाइला राख्न खोज्दा अर्कै ठाउँमा पर्ने !

मैले अहिलेसम्म जम्मा 13 वटा गाइडेड सोलो फ्लाइट गरेको छु, 25 वटा गरेँ र प्रशिक्षकलाइ चित्त बुझ्यो भने सोलो उडान गर्ने लाइसेन्स लिन मिल्दो रहेछ तर यसमा लाइसेन्सको महत्वभन्दा पनी हावा, बादल र बातावरणको जानकारि हुनु जरुरि रहेछ। बादलका पनी बिभिन्न प्रकार हुँदा रहेछन। प्याराग्लाडिङ पाइलटहरु अठार हजार फिटको उचाइसम्म पुग्दा रहेछन तर त्यो अठार-बिस हजार फिटको उचाइमा तापक्रम निकै चिसो हुँदोरहेछ। त्यो उचाइभन्दा माथि सायद जहाजहरु उडने भएर हो की, अनुमति रहेनछ। मलाइ त्यति माथी पुग्ने मन त छैन, सायद 12 हजार फीटसम्मको उचाइमा गइएला भबिष्यमा तर मलाइ Cross Country Flight गर्ने इछ्याचाँहि एकदमै छ।

उडनुमा खतरा त छ, तर खतरा के मा छैन र ?

भबिष्यमा सुपर क्लियर भिडियोहरु अपलोड हुनेछन, अहिलेलाइ यत्ति ।

(Orginally Published on: April 23, 2013 – 7:52 pm)

You Might Also Like

No Comments

Leave a Reply