Adventure

The Boy Who Flies..

January 30, 2013

मलाइ उत्साहित पारेको प्याराग्लाइडिङ भिडियो माथी, उमेशको पोखराको भिडियो तल छ.

सानैदेखि सपनामा आकाशमा उडेको देखिइन्थ्यो । हप्ता-दश दिनमा आउँथे यी सपनाहरु कुनै अग्लो ठाउँबाट उडेको देखिइने । केहीपल्ट त नजिककाहरुलाइ भनेँ ‘यी चराहरुझैँ उडन पाए कस्तो हुँदो हो यार?’ या त त्यहाँ खिसीपुर्ण हाँसो हुन्थ्यो या अर्थ न वर्थ गोबिन्द गाइ जस्ता कुरा गरेको भाव । मान्छेपनी उडन सक्छ ? ती प्रश्नको उत्तर स्वयंसँग थिएन, दिउँ कसरी ? तर मलाइ उडन मन लागेको थ्यो। गुगलमा हान्थेँ कहिलेकाँही ‘मान्छे कसरी उडन सक्छ?’ भनेर । गुगलले २-३ मिलियन उत्तर ल्याउँथ्यो, आफुलाइ चाहिएको बाहेक । आकाशमा उडेको सपनाचाँहि बेलाबखत देखिइन्थ्यो ट्रेलरका रुपमा। त्यो सपनाले १-२ दिन रोमाञ्चकता बढाउँथ्यो अनि दिउँसोमा आकाशतिर हेर्थेँ, साँच्चै उडन पाए यी पहाड, खेत र मान्छे-मोटरहरुलाइ माथिबाट तल हेर्दाको अनुभव कस्तो होला ? उडिरहँदा बतासले छुँदो हो अनी उडेरै निकै टाढा पुग्न सकिन्छ होला की नाँइजस्तो लाग्थ्यो। प्रश्नहरु थिए तर बेलाबखतमा बाहेक खासै ध्यान दिएको थिइन, साथि उमेश श्रेष्ठले पोखरामा गरेको प्याराग्लाइडिङको भिडियो नहेरुञ्जेल। २ बर्ष अगाडी होला उमेशले प्याराग्लाइडिङ गर्दाको आफ्नो अनुभवसहित भिडियो राखेका थिए माइसंसार ब्लगमा। त्यो भिडियो हेरेपछि प्याराग्लाइडिङ गर्ने चाहना गंभिररुपमा बढेको थ्यो र मैले निर्णय गरेको थियँ म उडन सिक्नेछु।

म अमेरिकामा थिएँ । एकदिन उमेशलाइ इमेल लेखेँ ‘प्याराग्लाइडिङ सिक्ने बिचारमा छु, केही सल्लाह दिनुस‘ मलाइ उचाइसँग डर लाग्नेहुनाले सकिन्छ की सकिन्न भन्नेमा निश्चित थिइन र तीनै कुराहरु सोधेर इमेल लेखेको थियँ। उमेशले पनी सिक्दा गजब हुन्छ भनेर लेखे। प्रोत्साहित गरे। मैले सकेसम्म एकजना सँगै सिक्ने साथि खोजेको थियँ, ताकी सिकेपछि पछि सँगै उडन सकियोस। प्याराग्लाइडिङमा खतरापनी रहेकोले दुइजना उडदा रेस्क्यु हुने संभावना हुन्छ भन्नेपनी थ्यो। तर सँगै सिक्ने साथि भेटिएको थिएन।

सिक्नैपर्यो भन्ने निश्चित गरेपछि गुगलमा प्याराग्लाइडिङ कसरी शुरु भयो, यो खेलमा हुने गरेका दुर्घटनाहरु, दुर्घटनाका प्रकार, सुरक्षाका उपाय, उडन सकिने ठाउँ, पाइलटिङको तह, सम्बन्धित सामानहरु किन्दा हुने खर्चहरुको बारेमा बुझेँ। काठमाडौमा टुर्स एण्ड ट्राभल चलाउने साथिलाइ एक साँझ फोन गरेर सोधेँ ‘प्याराग्लाइडिङ सिक्ने बिचारमा छु, चिनेको कोही छ ?’ शुरुमा उनले ‘कहाँ यस्तो वाहियात सिक्न थालेको आदी-इत्यादी भने, पछि शब्दहरुमा दृढताको छनक पाएपछि -यहाँ आउनुसमात्रै सबै मिलाउँला’ भने । यो भनाइ ओलीको गोलीभन्दा कम थिएन। यस्ता गोलीहरुबाट परिचित भैसकेको मैले, नेपालमै सिक्ने निश्चय गरेपछी पोखराका ब्लु-स्काइ र सनराइज प्याराग्लाइडिङलाइ इमेल लेखेँ गुगलमा वेभसाइट खोजेर। ब्लु-स्काइले चौथोदिनमा उत्तर लेख्यो । त्यहाँ सिकाइने तरिका, सिक्न उपयुक्त महिना, लाग्ने खर्च आदिका बारेमा बिस्तृत जानकारि दिइएको थ्यो। पछि ब्लुस्काइका पार्टनर नारायण पराजुलीसँग फोनमा कुरा भयो। मैले सिक्न चाहेको कुरा बतायँ, उनले सबै जानकारिहरु दिए। केही पैसा जम्मा गर्नु जरुरि थ्यो। 15 दिनको कोर्स हुँदोरहेछ। नेपालीलाइ १ लाख २० हजार र बिदेशीलाइ 1650 युरो लिँदा रहेछन शुल्क।

पाँच-पाँच दिनको गरेर ३ तहको कोर्स हुँदोरहेछ र आफुले सोलो उडान गर्न P3 लेभलको कोर्स गरेर लाइसेन्स लिनुपर्नेरहेछ।
मसँग निकै कम समय थ्यो। सानो काम (जा गिर) शुरु गरेको थियँ, धेरै ढिला हुँदा कामसाम गुम्ने संभावना थ्यो। केही पैसाको जोहो गरेँ र १८ दिनको छुट्टि मिलायँ। टिकट काटेँ । डिसेम्बर 5 देखि 17 सम्ममा P1 र P2 लेभल सक्ने अनी P3 चाँही पछि समय मिलाएर सक्ने सामान्य योजना बनायँ र सिक्नलाइ टीममा ठाउँ बुक गरेँ।

दुबइबाट फ्लाइ दुबइको जहाज काठमाडौमा साँझ 7 बजेतिर ल्याण्ड गर्ने सेडुल थ्यो। काठमाडौ गेष्टहाउसमा एक रातको कोठा बुक गरेँ र डिसेम्बर 4 को बिहानका निम्ति काठमाडौ-पोखरा जहाजको टीकट किनेँ । अनलाइन, गुगल र क्रेडिट कार्डले सबै काम सहज बनाएका थिए। यी सबै उपक्रमहरु सकेपछि अफिसमा सबै कागजपत्र-टिकटहरु प्रिन्ट गरेँ। दुबइमा केही घण्टाको ट्रान्जिट थ्यो। काठमाडौ झर्दा अँध्यारो भैसकेको थ्यो, बाहिर पार्किङमा होटलबाट लिन आका रहेछन। अमेरिकाबाट Kessler को 5 फिटे Cineslider ल्याको थियँ। मोटरभित्र राखेर हामी ठमेलतिर हुँइक्यौ।

ठमेल उस्तै थ्यो, रमाइलो । काठमाडौको चिसोले मलाइ गोर्खा बियर पिउन रोकेन। होटलको भुँइतले रेष्टुराँमा आगोछेउ बसेर केही बियर र फ्रेञ्च फ्राइ खाएर म त्यो रात ठमेलमा सुतेँ। सुटकेट र सिनेस्लाइडर होटलको स्टोरमा छाडेर अर्को दिन सबेरै डोमेस्टिक टर्मिनलबाट बुद्द एयरमा पोखरा झर्दा पारिलो घामले पोखरा सुन्दर देखिएको थ्यो। माछापुच्छ्रेलाइ यति राम्रो मैले पहिले देखेको थिइन।

क्राउन प्लाजा होटल थ्यो लेकसाइडमा । नरु गुरुङ दाइको फेमिली टाइपको होटल रहेछ। त्यँही बसेँ म पोखरा बसुञ्जेल। त्यो साँझ 4 बजे ब्रिफिङ राखिएको थ्यो ब्लु-स्काइको कक्षामा। त्यहाँ इन्सटक्चरहरु फ्रान्सका सबरिना र म्याथु, टर्कीको बारिस अनी बुल्गेरियाकी केटी (नाम बिर्सेँ) सँग भेट भयो अनी टीममा सिक्ने बाँकी ८ जनासँग भेट भयो। दुइटा ब्रिटिश अनी बाँकी नेपाली युवाहरु । ब्रिफिङमा प्याराग्लाइडिङको हल्का इतिहास अनी सुरक्षा उपायहरु आदिका बारेमा कुराहरु र एक-आपसमा परिचय भयो। भोली बिहान साढे ७ बजे अफिसबाहिर आइपुग्नुपर्ने उर्दी जारि भो।

ब्रिफिङबाट निस्केर म पैदल लेकसाइड चहारेँ। साँझ बलेका बत्तिहरुबिच पोखराको लेकसाइड र काठमाडौको ठमेल उस्तै देखिन्थे। सायद लेकसाइद अली सफा थ्यो होला ।

भोलिपल्टबाट, आउने १० दिनहरु प्याराग्लाइडिङ सिक्नमा ब्यस्त भएँ म। सधै सिक्न चाहेको कुरा सिकिरहेको थियँ तर कताकता ग्लानीको भावपनी थ्यो। सिकेर एकैपल्ट घर जान्छु भन्ने योजना थ्यो। मैले घर या कोही साथिहरुलाइ काम नसकिएसम्म फोन गर्न सकिन। म हुर्केको समाज र परिवारले यी प्याराग्लाइडिङ या यस्ता रि-क्रियशनल कुराहरुलाइ अनावश्यक ठान्छ र हतोत्साहित पार्छ । म केही नयाँ कुरा सिक्दैछु भन्नु मान्छेहरुलाइ कुरा गर्ने खुराक दिनु हो र कतिपय ती कुराहरु पीडा पुराउने खालकापनी हुन्छन भलै तपाँइ महिनौ, बर्षौको योजनापछि मिहिनेतले आर्जेको रकमबाट सिक्दै हुनुहुन्छ। मलाइ के लाग्छ भने, आफुलाइ केही गर्न मन लागेको छ, केही सिक्न मन लागेको छ भने त्यसका निम्ति थप काम गरेर भएपनी श्रोत जुटाउनुपर्छ तर अरुले के भन्लान भनेर नसिकी बस्नुहुन्न। अहिलेसम्म मैले जीवनमा जे निर्णयहरु लिएँ, ती मेरा आफ्ना निर्णयहरु थिए र आफुलाइ ठीक लागेका तत्कालिन निर्णयहरु थिए।

म १२ दिनपछि भैरहवा घरमा गएँ। घामले डढेर अनुहार कालो भएको थ्यो र ग्लाइडर बोकेर डाँडामाथि र तल गर्दा म यी थोरै दिनहरुमा ७ केजी घटेको थियँ। घरमा पुग्दा म बिदेशबाट आयजस्तो थिइन। ‘छोरो कति दुब्लाएछ, राम्ररी खानपनी पाएन’ भन्ने चिन्ता आमाका आँखामा देखियो।

भैरहवा हुस्सुले ढाकिएको थ्यो। बातावरणमा चिसोले आतंक फैलाएको अवश्थामा घरभित्र पार्क गरेर राखेको मोटरसाइकल स्टार्ट हुन मानेन। चोकसम्म डोराएर लगेँ अनी ब्याट्रि बदलेपछि बल्ल चल्यो। मोटरसाइकल चलाउने मान्छे घरमा कोही थिएन। मोटरसाइकलले पनी रोउँलाजसरी हेरेझैँ लाग्यो। मलाइ कस्तो नियास्रो लाग्यो भने त्यो बेला। ४ दिनजति घरमा बसेँ। बत्ति आउनेभन्दा जाने घण्टाहरु बढी रहेछन । घरमा बुवा र आमामात्रै अनी एउटा शुन्यता छाएजस्तो। टिभि, कम्प्युटर र पंखा चल्ने इन्भर्टर जोडेँ । कम्तीमा टेलिभिजन चल्यो भने बुवा-आमालाइ एक्लो महशुस नहोला की भन्ने लागेको थ्यो तर सन्तानहरुको उपस्थिति टेलिभिजनले पुर्ति गर्ला भन्ने आश राख्नु मुर्खता हो।

मोटरसाइकलमा म काठमाडौ फर्केँ । बिच-बिचमा रोकेर हरिया फाँटहरु हेर्दै सोँचे, यी फाँटहरुलाइ माथिबाट तल हेर्दा कस्तो देखिएला ? मोटरसाइकल चलाउँदा अगाडीबाट बतासले हानिरहेको थ्यो, घरिघरी लाग्थ्यो म आकाशमा उडिरहेको छु। बिना-इञ्जिन मौन बतासमा आकाशमा उडनुको आनन्द मैले यहाँ शब्दमा भन्न त सक्दिन तर मनमा एउटा स्थिरता छाएको थ्यो- उडन सिकेँ भन्ने।

अचेल जब म कुनै पहाडतिर हेर्छु, एउटै प्रश्न आउँछ मनमा – यहाँबाट उडन सकिएला की नाँइ ? सायद यो बर्ष जुलाइतिर मैले P3 कोर्स गरेर Solo Piloting को लाइसेन्स लिनेछु अनी त्यो बेलासम्ममा मसँग सायद आफ्नै ग्लाइडरपनी हुन्छ होला । एउटा सानो योजना के छ भने, कहिलेकाँही सिनेमा बनाउने…अनी कहिलेकाँहि आकाशमा उडने। सिनेमा बनाउनुपनी आकाशमा उडनुभन्दा कम हैन। आफुले सोँचेको कथालाइ स्वतन्त्रतापुर्वक उडन दिने हो सिनेमामा, जहाँ बनावटीपन नहोस । प्याराग्लाइडिङमा आफुलाइ उचाइ दिने हो बादलभन्दा माथि पुग्ने उचाइ, प्रकृतिसँगको सामिप्यता महशुस गर्ने हो।
अभ्यास त चाहिनेछ तर कुनै दिन म Cross Country Flight गर्नसक्ने हुनेछु पक्कै अनी हुनेछन पोखरा-तानसेन, पोखरा-लमजुङ र अन्य XC Flight हरु।

फर्कने टिकट भोलीपल्ट थ्यो । बालुवाटारको डेरामा पानी र धुलो पसेछ । एकबर्ष अगाडी किनेर पढिएका कान्तिपुर र नागरिक दैनिक टेबलमा स्थिर देखिए सतहमा हलुको धुलो जम्मा पारेर।

‘मान्छे नबसेको ठाउँ त बाबु कस्तो नियास्रो हुन्छ नी’ घरबेटी आमैले दुख ब्यक्त गर्नु भो। सानी अनुष्काले मलाइ चिन्न छाडीछिन, काखमा आउन मानिनन। उनलाइ केही नल्याइदिएकोमा खिन्न भयो मन।

एउटी प्रेमीका थिइन, कहिलेकाँहि भन्थिन ‘you are stubborn you know…?’
म के भनुँ, म सँग उत्तर हुन्थेन, म मौन बस्थेँ, उनी आफै भन्थिन ‘i think that is why i love you’
हिउँदमा रुखबाट झर्ने पातहरुझै उनी जीवनबाट हराइन, म एक्लियँ। बसन्त ऋतुमा पात पलाउँदासम्म उनी अर्कै रुखमा सरिसकेकी थिइन, मलाइ लाग्यो उनले मलाइ सोधेको प्रश्न थुप्रैलाइ सोध्नेछिन।
बालुवाटार घरको आँगनमा फुलको अग्लो बोट थ्यो, एयरपोर्ट जानुअघि बगैचामा घाम ताप्न कुर्सिमा बसेर बोटलाइ हेरेँ। उ छुट्टिएका पातहरुलाइ बिर्सेर नयाँ फुल फुलाउने प्रयत्नमा थ्यो। आफ्नै प्रतिबिम्बझैँ लाग्यो, मैले आकाशतिर हेरेँ। सायद म उनले भनेझै जिद्दि या सन्की थिएँ नत्र यो लामो यात्रा गरेर उडन सिक्न म नेपाल आउने थिइन । मान्छेले जीवनमा रित्तोपन महशुस गरेपछि बिभिन्न प्रक्रियाले त्यो रित्तोपन भर्ने प्रयाश गर्छ, सायद मेरो त्यही प्रयाश थियो की ! सबै प्रश्नका उत्तरहरु हुँदैनन र कहिलेकाँही प्रश्नलाइ -प्रश्नकै रुपमा रहन छाडिदिनुपर्छ।

जे होस, प्याराग्लाइडिङ सिक्न नेपाल गजबको ठाउँ हो। यहाँको राम्रो मौसम र उडन मिल्ने प्राय: दिनहरुका कारणले थुप्रै बिदेशीहरुपनी सिक्न नेपालमा आउँदा रहेछन। अन्य खेलहरुको तुलनामा प्याराग्लाइडिङमा धेरैको रुचि बढनुमा सायद यसले दिने ‘एडभेञ्चर फिल’ र ब्याकप्याकमा अटाउने सामानको कारणले पनी हो की? आकाशमा उडन आवश्यक Wing, बस्ने Harness, हेल्मेट र इमर्जेन्सिको लागी आवश्यक रिजर्भ Parachute सबै सामानहरु बोक्नमिल्ने ब्याकप्याकमा अटाउने भएकोलेपनी यो सजिलो छ। सबै सामानको तौल जम्मा १२ देखी १५ किलोजति हुन्छ।
P2 कोर्स गर्दासम्ममा मैले 13 वटा सोलो फ्लाइट गरेको छु । यी प्रत्येक फ्लाइटहरु 20-25 मिनटका थिए। Take Off र Landing दुबै ठाउँमा instructor हरु हुने र 2-way Radio बाट निर्देशन दिनेहुँदा यी फ्लाइटहरु खतराचाँही थिएनन । कोर्स सकेर जब आफैले निर्णय गर्नेबेला आउँछ सायद ‘डर’ त्यो बेला महशुस गरिएला । त्यो ‘डर’ को ब्यग्र प्रतिक्षामा।

उडेपछि अनुभव लेख्नेछु केही महिनापछि ।

साथि उमेशको Tandem Flight को भिडियो तल हेर्नुस-

नोट: यो ब्लगको शिर्षक मैले केही महिनापछि रिलिज हुन थालेको डकुमेन्ट्रि The Boy Who Flies बाट लिएको हुँ। डकुमेन्ट्रिको बारेमा थप जानकारी यहाँ www.theboywhoflies.com
Sources:
Vimeo.com
Google.com
Paraglidingforum.com

(Originally Published on: January 30, 2013 – 7:02 pm)

You Might Also Like

No Comments

Leave a Reply