सिनेमा

Argo

January 18, 2013

2012 मा हेरेका सिनेमाहरुमा मन परेको मध्ये एउटा ‘Argo’ पनि हो ।
Ben Affleck ले निर्माण, निर्देशन र अभिनय गरेको फिल्म Argo सत्य घटनामा आधारित सिनेमा हो। नोवेम्बर 4, 1979 मा इरानको राजधानी तेहरानमा आन्दोलनकारिहरुबाट कब्जामा लिइएको अमेरिकी दुतावास र त्यहाँ कार्यरत 50 भन्दा बढी अमेरिकी कुटनैतिक कर्मचारीहरुको अपहरणको वरिपरी र उनीहरुलाइ छुटाउन CIA र क्यानेडियन सरकारले गरेको प्रयाशको वरिपरी सिनेमा घुमेको छ।

मुख्य पात्र टोनी मेण्डेजको रोलमा निर्देशक बेन आफै छन। 1979 मा इरानियन आन्दोलनकारिहरुले तेहरानस्थित अमेरिकी दुतावास र त्यहाँ कार्यरत कर्मचारिहरुलाइ कब्जामा लिन्छन तर दुतावासलाइ कब्जामा लिनु अघि नै ६ जना कर्मचारिहरु दुतावाससँग जोडिएको गोप्य बाटोबाट बाहिरिन सफल भैसकेका हुन्छन र उनिहरु तेहरानस्थित क्यानेडियन राजदुतको निवासमा शरण लिन्छन। ती छ जना कर्मचारिहरुलाइ इरानबाट बाहिर निकाल्ने मिसनमा खटिएका टोनी मेण्डेजले हलिउडमा नक्कली फिल्म प्रोडक्सन कम्पनी खडा गरेर ‘Argo’ नामक Sci-Fi फिल्म बनाउने र सोही फिल्मको लोकेशन स्काउटिङका लागि इरान जाने अनि ती कर्मचारिहरुलाइ क्यानेडियन पासपोर्टको आधारमा फिल्म क्रु बनाएर इरान बाहिर निकाल्ने योजनाको वरिपरी कथा घुमेको छ।

अमेरिकी सरकारको ‘क्लासिफाइड मिसन’ का रुपमा रहेको यो मिसनलाइ बिल क्लिण्टन राष्ट्रपति भएपछि 1997 मा मात्र सार्वजनिक गरिएको थियो । लामो समयसम्म ‘क्लासिफाइड’ को सुचिमा रहेको यो मिसनलाइ दुइ फरक देशका सरकारहरुको उच्च सहकार्यको उदाहरणका रुपमा हेरिन्छ।

फिल्मको बारेमा- बेन एफ्लेक जति राम्रा कलाकार हुन त्योभन्दा राम्रा निर्देशक पनी हुन। ‘Argo’ को अन्तिम २० मिनटले मलाइ हर्ट अटयाक होलाजस्तो बनाएको थ्यो। अब के होला, के होला, के यी मान्छेहरु इरानबाट बाहिरिन सक्लान भनेर मुटुको गति रोकिएलाजस्तो हुने घरिघरि । इरान अहिलेपनी पश्चिमी राष्ट्रहरुबाट एक्लिएको देश नै हो । इरानको बारेमा सोँच्दा सामान्य मान्छेको मनमा एउटा कट्टर मुस्लिम समाजको चित्र आउँछ, जहाँ प्रजातन्त्र, मानवअधिकार भन्दा धर्म र धार्मिक गुरुहरुको बोली महत्वपुर्ण छ। निर्देशकले तत्कालिन इरानी परिबेषलाइ सिनेमामा देखाउन सफल भएका छन। एउटा उकुसमुकुसपुर्ण समाज जहाँ जताततै डर ब्याप्त छ। मान्छेहरु सामान्य गल्तिमा मारिन्छन, झुण्ड्याइन्छन। पश्चिमलाइ हेर्ने दृष्टिकोण कठोर छ । जहाँ हरेक गोरो छालालाइ ‘जाशुस’ का रुपमा हेरिन्छ।

इरानको शासनबाट हटाइएका तत्कालिन ‘शाह’ शाशकलाइ अमेरिकाले शरण दिएकोमा इरान अमेरिकाप्रति क्रुद्द छ । उनीहरुको माग छ ‘शाह’ लाइ इरान फिर्ता गरियोस जहाँ उनमाथि कार्वाही हुनेछ र सायद झुण्डाइनेछ। अमेरिका फिर्ता गर्न चाँहदैन, परिणाम इरानी अधिकारीहरु भेटेजति अमेरिकी नागरिकहरुलाइ कब्जामा लिने अभियानमा छन। इरानबिरुद्द जाशुसी गरेको आरोपमा उनीहरु अमेरिकी नागरिकलाइ इरानबाट बाहिरिन दिन चाहन्नन। एयरपोर्टमा कडाइ गरिएको छ । तसर्थ अमेरिकी परिचयमा इरानी एयरपोर्टबाट बाहिरिन असंभव छ । क्यानेडेली राजदुतको सहयोगमा छ अमेरिकी नागरिकको क्यानाडेली पासपोर्ट बनाइन्छ इरानबाट बाहिरिन, तर यो बाटोपनी सहज छैन।

अमेरिकीहरु संवेदनशील बिषयलाइ हामीलेजसरी सतही रुपमा फिल्ममा उतार्दैनन । बिषयबस्तुको संवेदनशीलतालाइ फिल्ममा उही तहमा उतारिएको छ । पात्रहरुको भाव, ब्याकग्राउण्ड म्युजिक र सिनेम्याटोग्राफिले कथाको उचाइलाइ बढाएका छन। फिल्म हेरिरहँदा दर्शकका रुपमा मैले तत्कालिन इरानी परिवेषमा ती पात्रहरुले भोगिरहेको त्राशलाइ महशुस गरेँ। जब पात्रहरु इरान छाडने प्रयाशमा एयरपोर्टतर्फ बढे, उनीहरुको मनमा त्राश भरिएको छ, इरानी अधिकारिहरुले समातेमा उनीहरुलाइ सार्वजनिक रुपमा झुण्डाइन सकिनेछ भन्ने डर बातावरणमा छ्याप्छयाप्ती छ। त्यो डर मैले सिनेमा हेरिरहँदा महशुस गरेँ। मलाइ लाग्छ सिनेमाको शक्ति नै त्यही हो जब पर्दामा पात्रले भोगिरहेको इमोशनलाइ दर्शकले महशुस गर्नसक्छ ।
हाम्रा निकै कम सिनेमाहरुले यो अवसर दिएका छन जहाँ पात्रले भोगिरहेको इमोशनलाइ सिनेमा हेरिरहेको दर्शकले महशुस गर्न सकोस।

‘Argo’ सातवटा बिधामा ओस्कर नोमिनेशनमा परेको छ यो बर्ष । केहिदिनअघिमात्रै ‘Argo’ ले गोल्डेन ग्लोबमा Best Picture-Drama र Best Director को एवार्ड हात पारेको थियो।

हेर्नुभएको छैन भने, हेर्नुस । राम्रो सिनेमा हो Argo । टोरेन्टमा पनी छ डाउनलोडका लागी । DVD या Blue Ray मा नै हेर्ने हो भने चाँही Feb 19 मा रिलिज हुँदैछ।

(Originally Published on: January 18, 2013 – 12:16 pm)

Image: IMDB

You Might Also Like

No Comments

Leave a Reply