सिनेमा

Incendies

February 28, 2012

हिँजो क्यानाडियन सिनेमा Incendies हेरेँ। Denis Villeneuve बाट निर्देशित यो सिनेमा मध्यपुर्व युद्दको कथामा आधारित छ । लेबनानी मुलकी क्यानाडियन महिलाको मृत्युसँगै सिनेमा अगाडी भढछ। ती महिलाले आफ्ना जुम्ल्याहा सन्तानहरुका निम्ति छाडेको अन्तिम इच्छ्यापत्रबाट शुरु हुन्छ । आमाको अन्तिम इच्छ्या हुन्छ, आफ्ना जुम्ल्याहा सन्तानले उनीहरुलाइ कहिल्यै थाहा नभएको दाजु र बाबुका बारेमा पत्ता लगाउन र एउटा पत्र हस्तान्तरण गरुन भन्ने हुन्छ। आफ्नी आमाका पाइला खोज्दै छोरि क्यानडाबाट मध्यपुर्व आउँछिन र कथाले गती लिन्छ। मरिसकेको भनिएका बाबु र थाहै नभएका भाइलाइ खोज्न लेबनान आउने क्रममा घटनाहरुमार्फत सिनेमाकी मुख्य पात्र आमाको जीवनका महत्वपुर्ण घटनाहरु देखिन्छन। यो सिनेमालाइ म राजनैतिक सिनेमा भन्छु। हाम्रोमा राजनैतिक सिनेमा भन्नासाथ भ्रष्ट नेता या दलहरु भन्ने आशय देखाइन्छ तर देशभित्रको र बाहिरको राजनितिले आम मान्छेको जीवनमा परेको प्रभावका बारेमा मिहिन ढङगले प्रस्तुत गरिएको सिनेमा मैले हेर्न पाएको छैन। Incendies मार्फत निर्देशकले मन छुने कथा पस्केका छन मध्यपुर्व द्वन्द र त्यसले उब्जायका कथाहरुको ।

मैले नोट गरेको एउटा कुरा के भने, इरानी सिनेमामा जस्तै यी मध्यपुर्वका अन्य देशका सिनेमाहरुको कथा भन्ने शैली हाम्रो भन्दा निकै फरक हुन्छ। हाम्रो कथाप्रस्तुतिंमा ‘मेलोड्रामा’ ले बढी स्थान पाउँछ, जहाँ नाम चलेका र एउटा ब्राण्ड बनिसकेका कलाकारहरुले अभिनय गरेका हुन्छन भने यी सिनेमाहरुमा मेलोड्रामाको मात्रा कम र बास्तविक लाग्ने पात्रको अभिनय देखिन्छ। हुन त Incendies क्यानाडियन सिनेमा हो तर कथाका हिसाबले यो मध्यपुर्वको हो। म इरानी सिनेमाको प्रशंशक र दर्शक हुँ। इरानीहरुको कथा प्रस्तुति र साधारणपन देखेर धेरै सिक्न सकिने ठाउँहरु देख्छु त्यसैले इरानी सिनेमाहरु खोजीखोजी हेर्नु मेरो प्राथमिकतामा पर्छन। हामी प्राय हलिउड, बलिउड या नेपाली सिनेमाहरु हेर्छौँ तर World Cinema अन्तर्गत पर्ने बिभिन्न देशका सिनेमाहरु हेर्नुको रमाइलो आफ्नो ठाउँमा छ। गत हप्ता यो बर्ष बिदेशी भाषाको उत्कृष्ट सिनेमाको बिधामा नोमिनेशनमा परेको बेल्जियमको ‘Bullhead’ हेरेको थियँ। डार्क टाइपको सिनेमा थ्यो। उनिहरुको कथा भन्नै शैली, लाइटिङ र कलरको टेष्ट अर्कै रहेछ। जस्तो भारतिय सिनेमाहरुमा कडा रङहरुको ब्यापक प्रयोग गरिएको हुन्छ, अनी हलिउडका सिनेमाहरु हेर्दा प्राय: Blueish टोन देख्छु म। इरानीहरुको हल्का Yellowish कलर टोन देखिन्छ त्यस्तै हाम्रा सिनेमाहरुको रङ भारतिय सिनेमाहरुबाट प्रभावित देखिन्छ, निकै कलरफुल हुन्छन।

Incendies सिनेमा मलाइ राम्रो लाग्यो भन्दैमा तपाँइलाइ लाग्नुपर्छ भन्नेछैन। फास्ट ट्रयाकका कलरफुल सिनेमाहरु प्राथमिकतामा पर्ने दर्शकका लागी Incendies को फिकापन र स्लो पेस मन नपर्न सक्छ तर कथ्य र प्रस्तुति हेर्ने हो भने सिक्न सकिने ठाउँहरु थुप्रै छन। राम्रो सिनेमा बनाउन राम्रा र नराम्रा सिनेमाहरु हेर्न जरुरि छ भन्नेमा म बिश्वास गर्छु। सिनेमाको ब्यापारिक पक्ष आफ्नो ठाउँमा महत्वपुर्ण छ तर सिनेमाको महत्व केवल ब्यवसायिक मात्र हैन।

कथाका बारेमा अरु के भनुँ ? यो न नारिप्रधान न पुरुषप्रधान न आर्ट न मसला फिल्म हो। यो केवल फिल्म हो। हेर्दा हुन्छ। मध्यपुर्वको द्व्न्दका बारेमा रुचि राख्नेहरुका निम्ति सिनेमा महत्वपुर्ण हुनसक्छ।

(Originally Published on: February 28, 2012 – 4:39 pm)

Image Source: Google

You Might Also Like

No Comments

Leave a Reply